विराटनगर । मोरङको बूढीगङ्गा गाउँपालिका–२ मा १ अर्बभन्दा बढीको लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक स्लाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डको यस उद्योगको शुक्रबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले विधिवत् रूपमा उद्घाटन गरे । स्वदेशमै स्लाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले स्थापित यो उद्योगले केही समयअघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ ।
उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले पाँच वर्षको निरन्तर अध्ययन र योजनापछि उद्योग सञ्चालनमा ल्याएका हुन् । जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि उत्पादन सुरु गरिएको सञ्चालकहरूले दाबी गरे ।
उद्घाटन समारोहमा बोल्दै डा. भगवान कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए । उनले भने, “स्वदेशमै औषधि उत्पादन हुनु सकारात्मक कदम हो । गुणस्तरमा कुनै सम्झौता नगरी यसलाई निरन्तरता दिनसके देशलाई ठूलो योगदान पुग्नेछ ।” उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १ सय एमएलदेखि ३ हजार एमएलसम्मको स्लाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधिहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
“हाम्रो मुख्य उद्देश्य सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु र औषधिको परनिर्भरता घटाउनु हो” ठाकुरले भने, “तर, स्लाइन उत्पादनको लागत बढी हुने र बजार मूल्य समायोजन नहुँदा हाल हामीले घाटा सहेरै उत्पादन गरिरहनुपरेको छ ।” उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धरासायी हुनसक्नेतर्फ ध्यानाकर्षण गराए । यस उद्योगले हाल एक सय ५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको यस उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । सलाइन उत्पादनमा पूर्णरूपमा स्वदेशी लगानी र उत्पादन गर्ने यो नेपालकै अग्रणी कम्पनी हुने अनुमान गरिएको छ ।
नेपालमा औषधि बजारको ठूलो हिस्सा विदेशी कम्पनीहरूको कब्जामा रहेका बेला एलेक्सा लाइफसाइन्सेजको सञ्चालनले औद्योगिक र स्वास्थ्य क्षेत्रमा नयाँ आशा जगाएको सरोकारवालाहरूले बताए । यसले आयातमा निर्भरता घटाउनुका साथै मुलुकको आर्थिक विकासमा समेत महŒवपूर्ण टेवा पु¥याउने अपेक्षा गरिएको छ ।






























