हङकङ । धरानबाट प्रकाशित हुने ‘ब्लाष्ट दैनिक’का सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित भएका छन्। गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा ‘पुर्खा दिवस’ कार्यक्रममा सहभागी हुन पुगेका कार्कीलाई यहाँका दुई सक्रिय संस्थाले विशेष सम्मान गरेका हुन्।

‘द नेप्लिज् एशोसिएशन हङकङ’ र ‘नेपाल क्लब हङकङ’ले एभरेष्ट होटलमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। पत्रकारितामार्फत समाज सेवामा पुर्‍याएको निरन्तर योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

कार्यक्रममा द नेप्लिज् एशोसिएशन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङ, पूर्व अध्यक्ष हेम राई तथा नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङलगायतले संयुक्त रूपमा सम्मान अर्पण गरेका थिए।

सो अवसरमा बोल्दै पूर्व अध्यक्ष हेम राईले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै कार्कीलाई सामाजिक परिवर्तनका लागि निरन्तर सक्रिय रहन आग्रह गरे। कार्यक्रम सञ्चालन पूर्व अध्यक्ष नारद राईले गरेका थिए।

कार्यक्रममा याउ चिम मङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, समाजसेवी कुलप्रसाद गुरुङ, शिक्षासेवी देवराज राई, महासंघका पूर्व अध्यक्ष टंक राना तथा गोरखा सेमिट्रिज ट्रष्टका अध्यक्ष अमोद राईलगायतको उपस्थिति रहेको थियो।

सम्मानप्रति आभार व्यक्त गर्दै कार्कीले प्रवासमा रहेर पनि आफ्नोपन र आत्मीयता अनुभव गराएको बताए। उनले यस्तो सम्मानले आफूलाई थप जिम्मेवार बनाउनुका साथै प्रेरणा दिएको उल्लेख गरे। साथै, प्रवासी नेपाली संस्थाहरूको सहकार्यले स्वदेश र प्रवासबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

कार्की ट्रष्टको निमन्त्रणामा अप्रिल ३ मा दुई साताका लागि हङकङ पुगेका हुन्।