विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी अपचलन प्रकरणमा छानबिन गर्न बनेको समितिले ५ महिना लगाएर अध्ययन ग¥यो । समितिले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा स्वास्थ्य मन्त्रालयमार्फत् कारबाही गर्नका लागि निर्देशन माग गर्नुपर्ने प्रतिष्ठान प्रशासनले जनाएको छ ।
प्रतिवेदनका आधारमा संलग्न व्यक्तिलाई कारबाही गर्न मन्त्रालय निर्देशन माग्नुपर्ने हो ? भन्ने ब्लाष्टकर्मीको जिज्ञासामा उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिवेदनले रकम अपचलनमा संलग्न व्यक्तिको नाम स्पष्ट किटान नगरेकाले निर्देशन माग्नु परेको बताए । उनले भने, “प्रतिवेदनमा संलग्न व्यक्तिहरूको नाम ‘पोइन्ट आउट’ गरेको छैन । यही मान्छे हो भनेर किटान नभएकाले के गरौँ भनेर मन्त्रालयमा निर्देशन मागिएको हो ।” समितिले संलग्न व्यक्तिहरूको नाम स्पष्ट रूपमा किटान नगरेको विषयमा छानबिन समतिका संयोजक डा. विष्णु पोखरेलले संस्थागत भ्रष्टाचारमा व्यक्ति संलग्न नहुने जिकिर गरे ।
उनले भने, “संस्थागत भ्रष्टाचार व्यक्तिले गर्दैन । फार्मेसीसँग सम्बन्धित तल्लो तहदेखि माथिल्लो तह जोडिन्छ ।” छानबिन समितिको प्रतिवेदनमा संस्थागत मिलेमतोमा भ्रष्टाचार भएको उल्लेख गरिएको छ । यस विषयबारे शिक्षासेवी डा. राजेन्द्र शर्मासँग बुझ्दा ‘लहरो तान्दा पहरो थर्कन्छ’ भन्ने लागेर स्पष्ट किटान नगरेको दाबी गर्छन् ।
प्रतिष्ठानले सञ्चालन गर्ने फार्मेसीमा निर्देशकको क्षेत्राधिकार रहन्छ । फार्मेसीमा कर्मचारीको मिलेमतोमा साढे दुई करोड ५२ लाख ६० हजार नौ सय ६८ रुपैयाँ १४ पैसा अपचलन गरेको भनी प्रतिवेदन बुझाएको छ । अस्पताल निर्देशक डा. जगतनारायण प्रसादको मातहतमा रहने फार्मेसी स्पष्ट नै भए पनि पदाधिकारी कारबाही गर्न हिच्किचाइरहेको बुझिएको छ ।
स्वास्थ्यमन्त्री भन्छिन्, “प्रतिवेदन अध्ययन गर्न पाएकी छैनँ”
स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहेताले आफूले प्रतिष्ठानको फार्मेसी अपचलनका बारेमा अध्ययन गर्न नपाएको बताएकी छन् । प्रतिष्ठानकी सहकुलपतिसमेत रहेकी मन्त्री मेहेताले बुधबार सञ्चारकर्मीसामु यस्तो बताएकी हुन् ।
प्रतिष्ठानको अनुगमनपश्चात् मन्त्री मेहेताले भनिन्, “नबुझिकन केही बोल्न मल्दिैन । छानबिन समितिसँग बस्छौँ । छलफल गर्छौं । छानबिनको वास्तविक रिपोर्ट नै अध्ययन गर्न पाएकी छैन । जे कुुरा मलाई जानकारी छैन । मैले त्यत्तिकै बोल्न मिल्दैन । विस्तृत रूपमा बुझ्छु, त्यसपश्चात् वास्तविकता शेयर गर्छु ।” मन्त्री मेहेताले प्रतिष्ठानको आकस्मिक कक्षलगायत अनुमगन गरेकी थिइन् ।
उनले सेवाग्राही (बिरामी) को पनि प्रतिक्रिया लिएकी थिइन् । मन्त्री मेहेतालाई प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौला तथा निर्देशक डा. जगतनारायण प्रसादलगायतका विभागीय प्रमुखहरूले प्रतिष्ठानका बारेमा ब्रिफिङ गरेका थिए । यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका धरान सभापति सुमन श्रेष्ठलगायतका पदाधिकारीसँग पनि छलफल गरेकी थिइन् ।






























