विजयपुर । नेपाल प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी संगठनलाई अझ अनुशासित र व्यावसायिक बनाउँदै लैजान सबै प्रहरी कर्मचारीलाई निष्ठावान् र इमानदार भएर काम गर्न निर्देशन दिएका छन् ।


नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत शुक्रबार आयोजित छलफल कार्यक्रममा उनले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता र समसामयिक विषयबारे निर्देशन दिएका हुन् ।


कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भूमिका खेलेको भन्दै सम्पूर्ण प्रहरी कर्मचारीलाई धन्यवाद दिए । उनले निर्वाचनका क्रममा प्राप्त जिम्मेवारीहरू सामूहिक भावनाका साथ कुशलतापूर्वक सम्पन्न गरेको उल्लेख गरे ।


आईजीपी कार्कीले आगामी मतगणनाका क्रममा देखिन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रभावकारी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । मतगणनास्थल, मत परिणाम सार्वजनिक हुने प्रक्रिया तथा विजयी दलका ¥याली, जुलुसलगायत गतिविधिमा कुनै त्रुटि नहुने गरी थप संवेदनशील भएर काम गर्न उनले जोड दिए ।


साथै सामाजिक सञ्जालमार्फत फैलिन सक्ने गलत सूचना तथा मिथ्या सूचनामाथि कडाइका साथ निगरानी गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई सक्रिय हुन उनले निर्देशन दिएका छन् ।


कुनै पनि अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने उनले बताए ।


कार्यक्रममा एआईजीपी, डिआईजीलगायत उच्च प्रहरी अधिकारीहरूको सहभागिता रहेको थियो ।