विजयपुर । प्रधानमन्त्री सुशीला कार्कीले कतारमा रहेका नेपाली नागरिकको सुरक्षाबारे कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग टेलिफोन संवाद गरेकी छन् ।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै कतारमा रहेका करिब तीन लाख ६० हजार नेपाली नागरिकको सुरक्षा र संरक्षणका लागि कतार सरकारले गरिरहेको पहलप्रति नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले पश्चिम एसियाको अवस्थालाई नेपालले नजिकबाट नियालिरहेको उल्लेख गर्दै सम्बद्ध सबै पक्षलाई संयम अपनाउन, द्वन्द्व थप नबढाउन र सर्वसाधारण नागरिकको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने धारणा राखिन्। उनले संयुक्त राष्ट्र सङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन, जेनेभा अभिसन्धि तथा मानवीय कानुनको सम्मान र पालना हुनुपर्नेमा पनि जोड दिइन् ।
कुनै पनि बहानामा युद्ध शान्तिको विकल्प हुन नसक्ने बताउँदै उनले संवाद र कूटनीतिक पहलमार्फत मात्र दीर्घकालीन शान्ति सम्भव हुने उल्लेख गरिन्। साथै दुई देशबीच उच्चस्तरीय भ्रमण आदान-प्रदान, आर्थिक तथा सांस्कृतिक सहकार्य तथा जनस्तरको सम्बन्धमार्फत द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
संवादका क्रममा प्रधानमन्त्री कार्कीले कतारप्रति ऐक्यबद्धता व्यक्त गर्दै कतारको सार्वभौम भूमिमा, विशेषगरी गैरसैनिक क्षेत्रमा भएको आक्रमणप्रति गहिरो चासो व्यक्त गरिन् र वर्तमान परिस्थितिको सामना गर्न कतार सक्षम रहने विश्वास व्यक्त गरिन् ।
कतारका प्रधानमन्त्री थानीले नेपाल र कतारबीच रहेको सुमधुर, घनिष्ठ र मित्रवत् सम्बन्धको प्रशंसा गरेका थिए ।
































