भद्रपुर । निर्वाचनलाई व्यवस्थित बनाउने उद्देश्यले झापामा फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

भद्रपुरमा शुक्रबार आयोजित निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा विषयमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताए ।

मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि निर्वाचन आयोगले यही आज (फागुन ३ गतेदेखि) १७ गतेसम्म देशव्यापीरूपमा सो कार्यक्रम सञ्चालन गर्न लागेकोले झापामा पनि सोहीअन्तर्गत १ सय ३१ वटा वडामा कार्यक्रम हुने उनले जनाए ।

प्रत्येक वडामा एक–एकजना मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने नेपालले जानकारी दिए । स्वयम्सेवकले मतदाताको घर, बस्तीमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महŒव र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको उनको भनाइ छ ।

मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महŒवपूर्ण भूमिका खेल्ने कार्यालयको विश्वास छ । आमनागरिकलाई मताधिकारको महŒव र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागिएको उनले कार्यक्रममा जानकारी दिए ।

कार्यक्रममा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आचारसंहिता लागू गरिएको बताए ।

अन्तरक्रियामा झापाका मुख्य निर्वाचन अधिकृत क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । जिल्लामा २ सय ८५ मतदान स्थल, ८ सय १५ मतदान केन्द्र तय गरिएका छन् । जिल्लामा ३ लाख ५८ हजार ३ सय ४६ पुरुष, ३ लाख ५५ हजार १ सय ८३ महिला र अन्य ८ गरी ७ लाख १३ हजार ५ सय ३७ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।