काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यसअघिसम्म उठाउँदै आएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डालाई यसपटकको घोषणापत्रबाट हटाएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले शनिबार काठमाडौंमा सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उक्त विषय उल्लेख नभएपछि पाइएको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि घोषणापत्र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मुद्दामा मौन रहेको सङ्केत गरे । 

यसअघि राप्रपाले राजसंस्थाको पुनःस्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था मुख्य राजनीतिक मुद्दाका रूपमा उठाउँदै आएको थियो । तर नयाँ घोषणापत्रमा भने पार्टीले शासकीय स्वरूपमा अभिभावकीय संस्थाका रूपमा राजसंस्थालाई अघि सार्दै प्रदेश संरचना खारेज गर्ने, केन्द्र र सशक्त स्थानीय तहसहित दुई तहको शासन प्रणाली लागू गर्ने एजेण्डा अघि सारेको छ ।

त्यसैगरी, वर्तमान निर्वाचन प्रणाली खर्चिलो र अस्थिर भएको उल्लेख गर्दै त्यसमा व्यापक सुधारको आवश्यकता औंल्याइएको छ । सर्वधर्म समभावसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको अवधारणा र गैरदलीय स्थानीय तहको व्यवस्थालाई पनि राप्रपाले प्राथमिक एजेन्डाका रूपमा प्रस्तुत गरेको छ ।

घोषणापत्रमा अबको राष्ट्रिय लक्ष्यका रूपमा ‘सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ’ लाई पार्टीले आफ्नो मार्गचित्रका रूपमा सार्वजनिक गरेको छ ।