भद्रपुर । झापामा सञ्चालित केही इँटा उद्योगीहरूले सरकारले गरेको निर्णयको अवज्ञा गर्दै इँटा पोलेपछि प्रशासनले रोक लगाएको छ ।

झापाको भद्रपुर–१ मा सञ्चालित डिबिआई, गणेश इँटा, कचनकवलको प्रेम र ज्योति इँटालगायत झापामा सञ्चालित अन्य केही उद्योगले समेत सरकारको निर्णय विपरीत फाइरिङ (आगो लगाउन) थालेको समाचार ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय झापाले चासो देखाएको थियो ।

इँटा पोलेको विषयलाई लिएर केही दिनअघि उद्योगीसहित इँटा उद्योग महासङ्घ झापा र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको नेतृत्वमा बसेको छलफलमा इँटा उद्योगीलाइ प्रमुख जिल्ला अधिकारी गेलालले आगो निभाउन निर्देशन दिएका थिए । ननिभाए दमकल प्रयोग गरेर प्रशासनले नै निभाउने निर्देशनपश्चात् उद्योगीहरूले प्रशासनले दिएको निर्देशन पालना गर्दै आगो निभाएको पाइएको प्रजिअ गेलालले जानकारी दिए ।

औद्योगिक व्यवसाय ऐन २०७६ को दफा २० को उपदफा १० अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा २०८१ चैत ११ गते बसेको औद्योेगिक तथा लगानी प्रवद्र्धन बोर्डको २४३ औँ बैठकले इँटा उद्योगबाट हुने प्रदूषण न्यूनीकरण गर्न एवम् कामदारको स्वास्थ्यलाई समेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्येक वर्षको पुस मसान्तपछि मात्र सुरु गर्ने भन्ने निर्णय भएको थियोे । 

तर नेपाल सरकारको नियमलाई उल्लङ्घन गर्दै सरकारले तोकेको समय अघि नै इँटा पोल्ने काम सुरु गरेका थिए । हाल झापामा २८ वटा उद्योग दर्ता देखिए पनि २४ वटा सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ । 

सुनसरी र मोरङमा समस्या ज्यूँका त्यूँ

झापामा सञ्चालित केही इँटा उद्योगीहरूले जिल्ला प्रशासनको निर्देशन मानेर इँटा उद्योगमा लगाएको आगो बन्द गरे पनि सुनसरी र मोरङमा सरकारको निर्णयलाई अटेर गरेको पाइएको छ । 

मोरङमा दिलिप वगडिया (अग्रवाल) ले सञ्चालन गरेका तीनवटा आनन्द नामका इँटा उद्योग, कोशी इँटा उद्योग महासङ्घका अध्यक्ष खगेन्द्र श्रेष्ठले सञ्चालन गरेको  सुनसरीको जय बाबा इँटा, कोशीकै महासचिव राजन तिम्सिनाले सञ्चालन गरेको सुनसरीको कमल इँटालगायतका उद्योगहरूले इँटा पोलिरहेको सूचना प्राप्त भएको छ । 

प्रशासनले चासो नदेखाएको व्यवसायीको आरोप

सरकारले गरेको निर्णय विपरीत केही इँटा उद्योगले आगो लगाइरहेको विषयमा कोशी इँटा उद्योग माहासङ्घका अध्यक्ष खगेन्द्र श्रेष्ठले प्रशासनले चासो नदेखाएको आरोप लगाएका छन् । केही इँटा उद्योगीले समय अगावै इँटा पोल्न थालेपछि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई लिखित पत्रमार्फत जानकारी गराए पनि चासो नदेखाएपछि सबैले इँटा पोल्न थालेको उनको भनाइ छ ।