धरान । उपमहानगरका महत्वपूर्ण सडकलगायतका योजनाहरू अधुरो छाडेर ठेकेदार कम्पनीहरू सम्पर्कविहीन बनेपछि इटहरी उपमहानगरपालिकाले ‘एक्सन’ सुरु गरेको छ ।

पटक–पटकको ताकेता र सूचनालाई बेवास्ता गरेपछि उपमहानगरले विभिन्न सडक योजना अलपत्र पार्ने ७ वटा निर्माण कम्पनीलाई १५ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न आइतबार सार्वजनिक सूचना नै जारी गरेको छ । तोकिएको समयसीमाभित्र चित्तबुझ्दो स्पष्टीकरण नआए सार्वजनिक खरिद नियमावली २०६४ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उपमहानगरको सूचनामा उल्लेख छ । विगतदेखि नै ठेकेदारहरुलाई ताकेता गरिए पनि अटेर गरेपछि कारबाही प्रक्रिया अघि बढाउन कार्यपालिकामा तीन महिनाअघि नै निर्णय भएको इटहरी उपमहानगरकी उपप्रमुख तथा योजना अनगुमन संयोजक सङ्गीता चौधरीले जानकारी दिइन् । उनका अनुसार अघिल्लो कार्यकालमा ल्याइएका नगरका महŒवाकाङ्क्षी योजनाहरू ठेकेदारहरूले अलपत्र बनाएका हुन् । 

उपमहानगरले सार्वजनिक गरेको विवरणअनुसार गिरी कन्स्ट्रक्सन प्रा.लि. ललितपुरले सबैभन्दा धेरै सडक योजना अलपत्र पारेको छ । कम्पनीले जिम्मा लिएका इटहरी–१७ लबीपुर–मजाह्रा सडक, जतपुर–बिसनपुर पर्खाल निर्माणसँग जोडिएको सडक–खण्ड, बिसनपुर–अमाहा ग्राभेल सडक, इटहरी–१४ हुलाकी सडकअन्तर्गत राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे तथा इटहरी–८ सतनमार्ग कालोपत्रे सडक लामो समयदेखि अधुरो अवस्थामा छन् । 

त्यस्तै अङ्कित कन्स्ट्रक्सन सिरहाले इटहरी–६ स्थित सार्वजनिक स्मार्ट शौचालयसँग जोडिएको पहुँच मार्ग तथा इटहरी–१६ बक्राहा खोलासम्बन्धी सडक संरचना समयमै सम्पन्न नगरेको उपमहानगरले जनाएको छ । एमके कन्स्ट्रक्सन सिरहाले इटहरी–१६ स्थित गोइदा खोलाको पुल र पहुँच सडक, भैरव–नारायण जे.भी. बाँकेले इटहरी–१५ भोटिया खोलाको पुल तथा पहुँच मार्ग र प्रतिष्ठा गिरी जे.भी. ले इटहरी–९ मा निर्माणाधीन १५ शøयाको अस्पताल भवनसँग जोडिएको सडक संरचना अधुरो छाडेको उपप्रमुख चौधरीले बताइन् । 

यसैगरी अनु निर्माण सेवा भोजपुरले इटहरी–२० धनपुरी मार्ग कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरसँग जोडिएको सडक संरचना काम सुरु नै नगरी अलपत्र पारेको उपमहानगरले जनाएको छ । आर.वन. कन्स्ट्रक्सन इटहरीले खनार प्रहरी चौकी–भानु मार्ग सडक निर्माण अधुरो छाडेको छ । स्थानीयस्तरमा अत्यन्तै महत्वपूर्ण मानिने यो सडक बिग्रिएको अवस्थामा रहँदा सर्वसाधारण मर्कामा परेका छन् ।

यस्तै गिरी कन्स्ट्रक्सन, प्रेरा पूर्णचण्डी गिरी जे.भी. र प्रतिष्ठा गिरी जे.भी. एउटै व्यक्ति कुमार गिरीसँग सम्बन्धित कम्पनीहरू हुन् । फरक–फरक नाममा ठेक्का लिएर काम अलपत्र पारिएको बताइएको छ ।  सम्बन्धित ठेकेदारहरूले भने भुक्तानीमा ढिलाइ र निर्माण सामग्रीको मूल्यवृद्धिलाई कारण देखाउँदै समस्या भएको बताउँदै आएका छन् । उपमहानगरले १५ दिनको समयसीमापछि नियमानुसार प्रक्रिया अगाडि बढाइने जनाएको छ ।