धरान । कोशी प्रदेशमा दुईपाङ्ग्रे सवारीसाधन दुर्घटनाको ग्राफ निरन्तर उकालो लागेपछि ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि नयाँ र व्यावहारिक अभियान ‘२ पाङ्ग्रेका चालकसँग २ मिनेट’ अभियान सुरु गरेको छ । पछिल्लो समय सडक सुरक्षा गम्भीर चुनौती बनेपछि मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न प्रदेशका १४ वटै जिल्लामा यो अभियानलाई तीव्र पारिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीले जानकारी दिए ।
अभियानअन्तर्गत सडकमा गुडिरहेका मोटरसाइकल र स्कुटर चालकलाई सुरक्षित स्थानमा रोकी ट्राफिक प्रहरीले मात्र दुई मिनेटको समय लिने गरेका छन् । सोही समयमा चालकलाई ट्राफिक नियम, सडक अनुशासन र सुरक्षित यात्राका आधारभूत तर जीवनोपयोगी कुराहरू प्रत्यक्ष सिकाइने गरिएको छ । शुक्रबार मोरङको नेमुवास्थित कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी गिरी स्वयम् सडकमा खटिएर चालकहरूलाई सचेत गराएका थिए ।
“हुस्सु लागेको बेला, खाल्डाखुल्डी परेको स्थानमा, सवारीमा लाइट नहुँदा, हेल्मेट नलगाई सवारीसाधन चलाउँदालगायत सानातिना समस्याबाट ठूलो क्षति हुने भएकाले सवारी चालकहरूलाई सचेत गराउन सडकमा दुई मिनेट रोकेर सचेतना जगाउने काम सुरु गरिएको छ”–एसपी गिरीले ब्लाष्टसँग भने ।
जाडो मौसमको सुरुवातसँगै हुस्सु र चिसोका कारण भिजिबिलिटी कमजोर हुँदा दुर्घटनाको जोखिम झन् बढेको छ । “हामीले चालकलाई हेल्मेटको फित्ता अनिवार्य र मजबुतसँग बाँध्न, तीव्र गति नियन्त्रण गर्न, लेन अनुशासन पालना गर्न र सवारी चलाउँदा मोबाइल प्रयोग नगर्न आग्रह गरिरहेका छौँ” एसपी गिरीले भने, “यो केवल सम्झाइ–बुझाइ मात्र होइन, यो सचेतना पनि हो । सवारी चालकलाई जिम्मेवार बन्न हाम्रो अनुरोध पनि हो ।”
नेपाल प्रहरी प्रादेशिक ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कले कोशी प्रदेशमा दुई पाङ्ग्रे सवारीको अवस्था कति जोखिमपूर्ण छ भन्ने छर्लङ्ग पार्छ । कार्यालयका प्रवक्ता डिएसपी सन्तोष श्रेष्ठका अनुसार गत मङ्सिर महिनामा मात्रै कोशी प्रदेशमा ८ सय ६२ वटा सवारी दुर्घटना भएका छन् । जसमा ३२ जनाको मृत्यु भएको छ भने ९ सय ७९ जना घाइते भएका छन् ।
कुल दुर्घटनामा ५६ प्रतिशत हिस्सा दुई पाङ्ग्रे सवारीकै रहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ । मङ्सिरमा ४ सय ८१ वटा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका छन् भने ६ सय ५ जना घाइते भएका छन् । यही तथ्याङ्कलाई विश्लेषण गर्दै सचेतना अभियान सुरु गरिएको एसपी गिरीले जानकारी दिए ।
ट्राफिक प्रहरीले राडारगन, ब्रेथलाइजर र लापसे (लागूऔषध सेवन) परीक्षण गर्ने विशेष कीट प्रयोग गरेर कारबाहीलाई कडाइ गरे पनि चालकको व्यवहारमा सुधार नआउँदा दुर्घटना न्यूनीकरण हुन सकेको छैन । कारबाहीले मात्रै दुर्घटना शून्यमा नझर्ने भन्दै ट्राफिकले चेतना र जिम्मेवारीबोध गराउन सडकमै ‘दुई मिनेट’ अभियान चलाएको हो ।
प्रहरीले विद्यालय तहदेखि नै ट्राफिक नियमबारे सचेतना फैलाउने दीर्घकालीन योजना पनि बनाएको छ । सडक प्रयोगकर्ता — चालक, सह–चालक र पैदलयात्री सबै सचेत नभएसम्म सडक यात्रा सुरक्षित नहुने ट्राफिक प्रहरीको निष्कर्ष छ ।
ट्राफिक प्रहरीले चलाएको अभियानमा यातायात मजदुर सङ्गठनको पनि सहकार्य हुनसक्ने नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी बनियाँले बताए । उनका अनुसार साँघुरो सडक, बढ्दो सवारी चापलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले चलाएको अभियान उचित भएको बताए । ट्राफिक प्रहरीले चलाएको अभियानमा यातायात मजदुर सङ्गठनले पनि सहकार्य गर्न सक्ने उनले बताए । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी ट्राफिकको मात्र नभएर स्वयम् चालक, सरोकारवाला सङ्गठन सबैको भएको उनको भनाइ छ ।































