धरान । कतिपय जनप्रतिनिधि पदमा पुगेपछि मौन बस्न थाल्छन् । न जनताको आवाज हुन्छ, न जनताका पीडाप्रति चासो । तर कोशी प्रदेशसभामा एक यस्ता सांसद् छन्, जसले न त आफ्नो पदको जिम्मेवारी बिर्सिए, न जनताका सवालहरू ओझेलमा पर्न दिए । उनी हुन् – सुनसरी क्षेत्र नं. १(१) बाट नेकपा (एमाले) बाट निर्वाचित प्रदेश सभा सदस्य रमेश बस्नेत ।

कोशी प्रदेशसभामा ३८ पटक जनसरोकारका विषय उठाइसकेका बस्नेत सदनमा बोल्ने मात्र होइन, तथ्यसहित र जिम्मेवार ढङ्गले आवाज उठाउने सांसद्का रूपमा परिचित छन् । चाहे शून्य समय होस् वा विशेष समय, चाहे प्राकृतिक विपद्को सवाल होस् वा नीति निर्माणको प्रक्रिया – बस्नेत सक्रिय रूपमा सहभागी हुन्छन् । 

बस्नेतका भाषणहरू सामान्य भाषणजस्ता हुँदैनन् । उनी प्रष्ट आवाजमा प्रश्न गर्छन्, तथ्याङ्कहरूको उजागार गर्छन् । आफ्नै पार्टीको सरकार छ तैपनि उनी सरकारसँग जवाफ माग्छन् । सरकारलाई बेला–बेला ध्यानाकर्षण गराउँछन् । साउन १३ गते शून्य समयमा उनले स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाए । साउन ११ गते योगदानमूलक निवृत्तिभरण कोषसम्बन्धी विधेयकमा ७ मिनेट गम्भीर र गहकिला धारणा राखे ।

उनको सदनको आवाज केवल भाषणसम्म सीमित हुँदैन, त्यसको प्रभाव मन्त्रिपरिषद्सम्म पुग्छ । गत जेठ ३० गते उनले जेठ १६ गते आएको बाढीबाट कोशी प्रदेशमा भएको क्षतिबारे विशेष समय लिएर सरकारको ध्यानाकर्षण गरे । उनका यस्ता विषयहरू मन्त्रीहरूसम्म पुग्ने र सम्बोधन प्रक्रिया अघि बढ्ने परिपाटी बनिसकेको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विदुर लिङ्थेप भन्छन्, “जो अध्ययन गरेर धारणा राख्छ, तथ्यमा उभिएर बोल्छ, उसैले सदनमा बढी अवसर पाउँछ । त्यो स्थान रमेश बस्नेतले लिइरहनुभएको छ ।” उनका अनुसार बस्नेत नीतिगत विषयमा मात्र होइन, आपत विपद्का विषयहरू पनि उठाउँछन् । उनले नेकपा (एमाले)को तर्फबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षा स्वास्थ्य सेवा र चुनौतीबारे सदनमा तथ्याङ्कसहित धारणा राखे ।

सदनमा तथ्याङ्कसहित विषय उठाउने सांसद् कमै हुन्छन् । तर बस्नेत त्यस्ता सांसद् हुन्, जसका अभिव्यक्ति खबर बन्छ । “सांसद् बस्नेत सदनमा बोल्न थालेपछि पत्रकारले नोटबुक खोल्छन्” संसदीय पत्रकार मञ्चका संस्थापक अध्यक्ष गणेश लम्साल भन्छन्, “उहाँको बोली स्पष्ट, सन्देशमूलक र समाचारयोग्य हुन्छ । त्यही भएर हामी पत्रकार बस्नेतलाई बढी खोज्छौँ ।”

उनको सक्रियता केवल राजनीतिक जिम्मेवारी मात्र नभएर सामाजिक सरोकारप्रति समर्पण भएको धेरैको बुझाइ छ । 

 हाल धरान ४, ५ र ६ नं. वडा भएको साविकको पाँचकन्या गाविसका अध्यक्षसमेत भइसकेका नेता बस्नेत स्थानीयस्तरमा पनि लोकप्रिय मानिन्छन् । प्राकृतिक विपद् होस् वा शिक्षा, स्वास्थ्य, बेरोजगारी, सामाजिक सुरक्षा बस्नेतले कुनै पनि संवेदनशील विषय छुटाउँदैनन् । जनताको आवाजलाई उनले प्रदेशसभाको मञ्चमा पु¥याइरहेका छन् र सरकारलाई जवाफदेही बनाउन निरन्तर लागिपरेका छन् ।

संसद्भित्रको आवाज र संसद्बाहिरको भरोसा बनेका बस्नेतजस्ता प्रतिनिधि लोकतन्त्रका लागि मात्र होइन, समाजका लागि पनि प्रेरणादायी बनेका छन् । सदनमा जनताका आवाज बोल्ने उत्कृष्ट सांसद्को लाइनमा उनले पनि नाम लेखाएका छन् ।

९३ जना सदस्य रहेको प्रदेशसभामा एक हजार १ सय ३६ पटक सदनमा सैद्धान्तिक छलफल, शून्य समय, विशेष समय र दलको विचार राख्न बोलेका छन् । 

कोशी प्रदेश सभामा सांसद्हरूले जम्मा ४ सय ३० पटक दर्ता भएर टेवल भएका विधेयकहरूको सैद्धान्तिक छलफलमा बोलेका छन् । यसमा रमेश बस्नेतले १७ पटक विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका छन्  । 

बढी बोल्ने सांसद्हरूमा सोलुका गोम्बु शेर्पा ४६ पटक, तेह्रथुमका किशोर दुलाल ३६ पटक, सोम चेम्जोङ ३३ पटक, मीना श्रेष्ठले २६ पटक संसद्मा आवाज उठाएका छन् । ९३ सांसद्मध्ये उदयपुरकी सिर्जना दनुवार, मोरङका अमृतकुमार अर्याल, लीलाकुमारी राई र नम्बरलाल धिमालले दोस्रो कार्यकालको अधिवेशनसम्म सदनमा एक पटक पनि नबोलेको संसद् सचिवालयको रेकर्डमा उल्लेख छ ।