विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि सार्वजनिकरूपमा अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको छ ।
अध्यक्ष अन्सारीले प्रहरीलाई गरेको गालीगलौज सामाजिक सञ्जालमा भाइरल भएपछि सुनसरी प्रहरीले उनलाई तीनवटा मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ । स्थानीय सरकार प्रमुखको हैसियतमा रहेका पदाधिकारीले सार्वजनिकरूपमा अपशब्द तथा गालीगलौज गरेको अभियोगमा कोशी प्रदेश प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको हो । सार्वजनिकरूपमा प्रहरीलाई अपमान गरेको भिडियो सार्वजनिक भएपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ईश्वर कार्कीले अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । ‘गाउँपालिकाको अध्यक्षजस्तो व्यक्तिबाट सुरक्षाकर्मीमाथि सार्वजनिक गालीगलौज हुनु अत्यन्त निन्दनीय हो’ डिआइजी कार्कीले भने, ‘मैले सुनसरी जिल्ला प्रहरी कार्यालयलाई घटनाको गहिरो अनुसन्धान गरी दोषी प्रमाणित भए कानूनअनुसार कारबाही अघि बढाउन निर्देशन दिएको छु ।’
तीनवटा मुद्दामा अनुसन्धान
घटनाको भिडियो सार्वजनिक भएपछि सुनसरी जिल्ला प्रहरी कार्यालयले अध्यक्ष अन्सारीविरुद्ध तीन फरकफरक मुद्दामा अनुसन्धान थालेको हो । जिल्ला प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार अनुसन्धानका तीन प्रमुख आधारहरू रहेका छन् । सार्वजनिक ठाउँमा अभद्र व्यवहार, राष्ट्रसेवक कर्मचारीलाई कर्तव्यपालनमा अवरोध र आपराधिक उपद्रव प्रदर्शन गरेको एसपी तिम्सिनाले बताए । ‘ड्युटीमा रहेका ट्राफिक प्रहरी असइ सन्तोष मिश्रा र सइ कमलप्रसाद दाहाललाई अध्यक्ष अन्सारीले असान्दर्भिक आरोप लगाउँदै गालीगलौज गरेका छन्’ एसपी तिम्सिनाले भने, ‘सार्वजनिकरूपमा यस्तो अपमानजनक व्यवहार गर्नु कानूनी दृष्टिकोणले गम्भीर अपराध हो । हामीले अनुसन्धानको प्रक्रिया सुरु गरेका छौँ र आवश्यक प्रमाण सङ्कलन गरिरहेका छौँ ।’
ओभरलोड ट्याक्टर रोकिएपछि चर्कियो विवाद
जेठ २३ गते को.१ त ४९४३ नम्बरको बाँस लोड गरिएको ट्याक्टर ट्राफिक असइ रामराजा यादवले रोकेका थिए । ओभरलोड गरेको पाइएपछि जरिबाना तिराइएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक अध्यक्ष अन्सारीका आफन्त रहेको प्रहरीले जनाएको छ । सोही जरिबाना गरेको विषयमा अध्यक्षलाई चित्त नबुझेको प्रहरीले जनाएको छ । भिडियोमा अन्सारीले प्रहरीमाथि घूस लिएको आरोप लगाएका छन् र आफूले फोन गर्दा नउठाएको भन्दै आक्रोशित हुँदै अपशब्द प्रयोग गरेको सुनिन्छ । भिडियोमा उनले प्रहरीलाई “माफिया” र “जनतालाई दुःख दिने” भन्दै जथाभावी अपशब्द प्रयोग गरेको सुनिन्छ । भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा अध्यक्षप्रति आलोचना बढेको छ । कतिपयले अध्यक्ष अन्सारीको राजीनामा मागेका छन् ।
तीन महिने हदम्याद
सुनसरीका एसपी तिम्सिनाका अनुसार उक्त घटनालाई लिएर तीनवटा मुद्दा अन्तर्गत अनुसन्धान थालिएको छ । कानूनी प्रक्रिया पनि अघि बढाएको उनले बताए । ‘हामीले ३ महिने हदम्यादभित्र अनुसन्धान सक्ने गरी प्रमाण सङ्कलनको कार्य अघि बढाएका छौँ’ एसपी तिम्सिनाले भने, ‘घटनामा संलग्न सबै पक्षको बयान लिइनेछ र भिडियो प्रमाणको फरेन्सिक जाँच गरिनेछ ।’ गाउँपालिका अध्यक्षजस्तो जिम्मेवार पदमा बसेका व्यक्ति स्वयम्ले नै कानूनको उल्लङ्घन गर्नु लोकतन्त्रको मर्यादामाथिको अपमान हो । जनताको सेवा गर्ने भनिएकाहरूले यदि सुरक्षाकर्मीमाथि नै दबाव र अपमानजनक व्यवहार गरे भने लोकतान्त्रिक प्रणालीको विश्वसनीयतामा गम्भीर प्रश्न उठ्छ । कानूनको शासनमा विश्वास राख्ने समाजमा यस्तो हर्कत गर्ने जनप्रतिनिधिलाई कडा कारबाही हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा आलोचना सुरु भएको छ ।
अन्सारी भन्छन्, ‘मैले केही बोलेको छैन’
सामाजिक सञ्जालमा अध्यक्ष अन्सारी प्रहरीलाई अपशब्द बोल्दै गालीगलौज गरेको भिडियो भाइरल भएपछि पनि आफूमाथि लागेको आरोप अस्वीकार गरे । सामाजिक सञ्जालमा स्पष्टरूपमा उनले गाली गरिरहेको भिडियो देखिएको भए पनि उनले ब्लाष्टसँगको छोटो कुराकानीमा “मैले केही बोलेको छैन, मलाई यो विषयमा केही थाहा छैन” भन्ने प्रतिक्रिया दिएपछि फोन काटेका थिए । यता कोशी गाउँपालिकाका पत्रकार मिकाइल आलमले यथार्थ कुरा बुझौँ भन्दै सामाजिक सञ्जाल फेसबुकमा जीवनन्द झा, मनोज यादवलगायतले पोष्ट गरेको स्टाटसलाई सार्वजनिक गरेका छन् ।
भिडियोसहितको उक्त पोष्टमा लेखिएको छ, ‘यो घटना एकाएक सिर्जना भएको होइन । सर्वसाधारण जनतादेखि सिटी, अटो, ट्याक्टरलगायत चलाएर दैनिक ८ सयदेखि एक हजार रुपैयाँ कमाएर जीविका चलाउने कोशी क्षेत्रका जनताले कयौँ पटक स्थानीय सरकार प्रमुख ऐयुब अन्सारीलाई ‘भण्टाबारीदेखि लौकहीसम्म आउजाउ गर्दा ट्राफिक प्रहरीलाई दैनिक, अर्धमासिक, मासिक बुझाउनु नै पर्छ’ भन्ने गुनासो गर्दै आएका थिए ।
सोही क्रममा ३–४ दिनअगाडि कोशी–२ का दूध व्यापारीलाई कटानमा ट्राफिक प्रहरीले सुरुमा तीन घण्टा रोकेर राख्यो, त्यतिबेलासम्म उहाँले बेच्नका लागि भनेर लाँदै गरेको दूध पनि खराब भयो तर पनि त्यहाँ कार्यरत ट्राफिक प्रहरीले ५सय रुपैयाँ लिएर मात्रै जान दिएको विषयमा गरेको गुनासो अध्यक्ष ऐयुब अन्सारीले प्रदेश ट्राफिक प्रहरीका डिएसपीलाई समेत गर्दा कुनै कदम नचालिएको । समग्रमा भन्नु पर्दा जनतालाई पैसा नदिएको झोंकमा अनाहकमा दिनहुँजसो ट्राफिक प्रहरीले दुःख दिन थालेपछि यस्तो परिस्थिति सिर्जना भएको कुरा जानकारीका लागि स्पष्ट पार्न चाहन्छौँ । जनहितमा हुने काम गर्न कोशी अध्यक्ष ऐयुब अन्सारी हिजो पनि कटिबद्ध हुनुहुन्थ्यो र भोलि पनि रहनुहुनेछ धन्यवाद ।’
डिएसपीको नेतृत्वमा छानबिन समिति
सुनसरी प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी योगदार खतिवडाको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ । दुवैतर्फको विषयलाई सूक्ष्म ढङ्गले छानबिन गर्नका लागि समिति गठन भएको सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । उनका अनुसार डिएसपी खतिवडाको नेतृत्वमा दुईजना इन्स्पेक्टर छन् ।
एक साताभित्रमा प्रतिवेदन बुझाएपछि दोषी देखिए कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा ड्युटीमा खटिएको प्रहरीबाट गल्ती भएको रहेछ भने उनलाई पनि कारबाही हुन्छ’–एसपी तिम्सिनाले भने ।