काठमाडौं । गणतन्त्र घोषणा भएकै दिनदेखि राजसंस्थाको पक्षमा सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ विस्तारै संवेदनशील स्थानहरूमा केन्द्रित हुँदै गएको छ । सरकारमाथि दबाव बढाउँदै राजावादीहरूले आज (शनिबार) नारायणहिटी दरबारकै अगाडि जनप्रदर्शन गर्ने भएका छन् ।
बिहीबार भने आन्दोलन रत्नपार्क केन्द्रित भएको थियो । शुक्रबार दोस्रो दिन भने माइतीघरमा पुगेको थियो । आज नारायणहिटी दरबारको अगाडि प्रदर्शन गरिने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । आन्दोलन शान्तिपूर्ण नै हुने उनको दाबी छ ।
‘हाम्रो हिंसा भड्काउने रणनीति अहिले छैन, सरकारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छौँ’ उनले भनेका छन्, ‘हामी शान्तिपूर्ण माध्यमबाटै नवीन समझदारीका लागि दबाव दिइरहेका छौँ । सरकारले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरिरह्यो भने चाहिँ हामीले पनि कठोर निर्णय लिनुपर्ने हुनसक्छ ।’
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी ओलीलाई नवीन समझदारीमा नआए भाग्नका लागि हेलिकप्टर खोज्न चेतावनी दिएका छन् । राजा फर्काउन अनिश्चितकालीन आन्दोलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा बिहीबार नै देखिसकेको टिप्पणी गर्दै अब आफै भाग्न हेलिकप्टर खोज्न सुझाए ।
शुक्रबार भएको प्रदर्शनका कारण काठमाडौंको माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।
राप्रपा, राप्रपा नेपाललगायतका दलहरू समेतको सहभागितामा जारी आन्दोलन राजसंस्था पुनःस्थापना नभई नरोकिने बताइएको छ । आन्दोलनका कारण काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको छ । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधारणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।