धरान । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्नका लागि निर्माण गरिन लागेको केबलकारको विषयमा विरोध गर्दै आएको समूह र प्रहरीबीच झापाको दमकमा झडप भएको छ । 

झापा दमक नगरपालिका ६ स्थित गणतन्त्र चोकमा विरोध गरिरहेको समूह र प्रहरीबीच झडपको स्थिति बनेको हो । त्यसक्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । अवरोधकर्ताहरूले आइतबार सडकको बीच भागमा टायर बाली अवरोध गर्न खोजेका थिए । सो क्रममा प्रहरीलाई बन्दकर्तालाई नियन्त्रण लिन खोज्दा बन्दकर्ताहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । यसक्रममा प्रहरीले घटनालाई नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएके छ । 

बन्दकर्ताले प्रहार गरेको ढुंगाका कारण मे.१ च ५१६१ नम्बरको स्कारपियोमा सामान्य क्षति पुगेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको नेतृत्वमा बन्दकर्ताले टायर बालेका थिए । केही बन्दकर्ताहरूलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखेको जनाएके छ ।

यातायात अवरुद्ध पार्न खोजेकाले अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । प्रहरीले हालसम्म सात जना बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा पदम बेघा, धनकुमार योङहाङ, शुक्रवीर लिम्बू, आदित्य फियाक , प्रकाश लावुङ, सन्देश लिम्बू र नाम्साङ लिम्बू छन् । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले नो केबलकार समूहका ८ जनालाई पक्राउ गरेको जानकारी दिए । उनले ती पक्राउ परेका ८ जनालाई नै छाड्ने तयारी गरेको जानकारी दिए । उनका अनुसार प्रहरीले बन्दकर्तालाई तर्साउनका लागि तीन सेल अश्रुग्यास र तीन सेल हवाई फायर खोलेको थियो । 

यस्तै पान्थरको फिदिममा पनि ‘नो केबलकार’ भन्दै प्रदर्शन गरेका छन् । नो केबलकार संयुक्त संघर्ष समितिको अगुवाइमा प्ला कार्डसहित प्रदर्शन गरिएको हो । त्यसक्रममा बन्दकर्ताले नाराजुलुस गरेका थिए । पाथीभरा (मुक्कुमलुङ) संरक्षणप्रेमीमाथि गोली चलाउन पाइँदैन, असक्षम गृहमन्त्री राजीनामा देऊलगायतको प्ला कार्ड बोकी प्रदर्शन गरेका थिए । जिल्ला समन्वय समिति पाँचथर अगाडिबाट सुरु भएको जुलुस बजार परिक्रमा गरी गणतन्त्र चोकमा पुगी कोणसभामा परिणत गरेको थियो । 

बन्दकर्ताहरूले केही दिनअघिबाट मेची राजमार्गलगायत पहाडी जिल्ला ठप्प पारेका थिए । आज (आइतबार)देखि दुई दिनसम्म अरुण पूर्वको ९ जिल्लाको यातायात अवरुद्ध पारेको छ । यसक्रममा झापाको दमकमा झडपको स्थिति बनेको हो । पाथिभरा देवीको मन्दिरसम्म पुग्ने केबलकार निर्माण गर्न आइएमई समूहले लगानी गरेको छ । ३ अर्बको लगानीमा केबलकार निर्माण गरिन लागिएको छ भने हाल फन्डेसनको काम हिमालयन कन्स्ट्रक्सनले गरिरहेको छ । नो केबलकार समूहले माघ १५ गतेदेखि मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात अवरुद्ध पारेका थिए । 

बन्दका कारण पहाडी रुट तथा मधेशका केही क्षेत्रबाहेक ठप्प भएका छन् । तराईका जिल्लाहरूमा भने सञ्चालनमा रहेका थिए । इटहरी, विराटनगर, रङ्गेलीलगायतका क्षेत्रमा भने यातायात सञ्चालनमै रहेको प्रहरीले जनाएको छ ।