धरान । धितो मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सेञ्चुरी कर्मसियल बैङ्कका तत्कालीन अध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ ।

बैङ्कका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित नौ जनालाई सोमबार सिआईबीले नियन्त्रणमा लिएको प्रवक्ता एवम् एसपी होबिन्द्र बोगटीले जानकारी दिए । गत फागुनमा सेञ्चुरी बैङ्कका प्रमुख कार्यकारी अधिृकत मनोज न्यौपानेसँगै पूर्व प्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित १० जनालाई पक्राउ गरेको थियो ।

त्यसबेला अध्यक्ष भने पक्राउ गरिएको थिएन । तत्कालीन समयमा राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । गत फागुनमा पक्राउ परेका उनीहरूलाई हाजिर जमानीमा छाडिएको थियो । सोमबार भने पूर्वअध्यक्षसहित सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्य, सुनिलकुमार न्यौपाने, प्रा.डा. गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ गरेको एसपी बोगटीले जानकारी दिए ।

ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईले सञ्चालनमा ल्याएको चारवटा कम्पनीलाई धितो सुरक्षणभन्दा बढी ऋण प्रवाह गरेको थियो । यता उनी सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा छन् ।

सिआइबीका अनुसार उनी आबद्ध पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रा.लि., थ्री ब्रदर्स मार्केटिङ प्रा.लि., पूजा मार्केटिङ प्रा.लि. र अन्नपूर्ण डिस्टिलरी प्रा.लि.लाई कर्जा दिँदा बैङ्कमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्याङ्कनभन्दा बढी ऋण प्रवाह गरेको अनुसन्धानमा भेटिएको थियो ।

धितोको मूल्याङ्कन एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रुपैयाँ रहेको थियो भने कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रुपैयाँ प्रवाह गरेको अनुसन्धानको क्रममा सिआईबीले फेला पारेको थियो । यसरी धितोको मूल्याङ्कनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रुपैयाँ ऋण प्रवाह गरेको भन्दै सिआइबीले यसअघि १० जनालाई पक्राउ गरेको थियो भने सोमबार नौ जनालाई पक्राउ गरेको हो । सोमबार पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिन हिरासतमा राख्न अनुमति लिएको एसपी बोगटीले जानकारी दिए ।

सिआइबीले उनीहरूमाथि बैङ्किङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान गर्न म्याद थप गरिएको एसपी बोगटीले जानकारी दिए ।

सञ्चालक सदस्य धरानबाट पक्राउ

तत्कालीन सेञ्चुरी बैङ्कका सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्य पनि पक्राउ परेका छन् । सिआइबीका प्रवक्ता एवम् एसपी होबिन्द्र बोगटीले उनलाई सुनसरीको धरानबाट पक्राउ गरिएको जनाए ।