इटहरी । मोरङ सुन्दरहरैँचा–१० का गणेश थापाले ६ महिनाअघि स्थानीय साहुलाई जग्गा धितो राखी पाँच लाख रुपैयाँ ऋण लिए । आर्थिक अवस्था कमजोर रहेका थापाले स्थानीयस्तरमा काम त भेटे तर, कमाएको पारिश्रमिकले घर खर्च टार्न मुस्किल भएपछि विदेश जाने निर्णय गरे ।

छिमेकी साथीभाइको लहलहैमा लागेर इटहरीको एक कन्सल्टेन्सीमा गएर सर्वियाका लागि डेढ लाख रुपैयाँ बुझाए । काम पनि राम्रो कमाइ पनि महिनाको २ लाख हुने लोभ देखाएको कन्सल्टेन्सीले भिसा दिन आनाकानी सुरु गर्न थालेपछि उनले आफ्नो एड्भान्स रकम र कागजात सबै फिर्ता मागे । कन्सल्टेन्सीले सबै प्रक्रिया पूरा गरेर एक हप्ताभित्र भिसा दिने नत्र रकम र कागजात फिर्ता गर्ने प्रतिबद्धता जनाएको थियो । तर, १५ दिन बित्दा पनि न भिसा आयो, न त पैसा नै फिर्ता पाए । हाल कन्सल्टेन्सी सञ्चालक नै फरार भएको जानकारी पाएपछि उनी छाँगाबाट खसे ।

थापाजस्तै मोरङ लेटाङका गुञ्जमान श्रेष्ठले पनि सर्विया जाने भनी श्रीमतीको गरगहना धितो राखेर कन्सल्टेन्सीलाई एड्भान्सस्वरूप दुई लाख बुझाएका थिए । तर, दुई महिना बितिसक्दा पनि कन्सल्टेन्सीले कुनै चासो र खबर नराखेपछि उनी इटहरीस्थित कार्यालय पुगे । ‘तपाईंको काम १५ दिनभित्रै भइहाल्छ भनेर सञ्चालक बेपत्ता बनेको ६ महिना बित्यो, अहिलेसम्म केही खबर छैन’–उनले भने । त्यहीकारण अहिले श्रीमतीसँग पनि राम्रो सम्बन्ध नभएको उनले बताए ।

त्यस्तै ७ धुर जग्गा बेचेर ५ लाख रकम बुझाएका सिरहाका प्रदीप यादव पनि ठगिएका छन् । यी माथिका घटना र जोडिएका पात्रहरूलाई ठग्ने कन्सल्टेन्सीको नाम हो– ई टु डब्ल्यु कन्सल्टेन्सी । उक्त कन्सल्टेन्सीले दुई सयभन्दा बढी सर्वसाधारणबाट २० करोडभन्दा बढी रकम ठगेर बेपत्ता भएपछि पीडितहरू घर न घाटको बनेका छन् । नेपाली विद्यार्थीहरूलाई उच्चशिक्षाका लागि अन्तर्राष्ट्रियस्तरका कलेजहरूसँग समन्वय तथा सहकार्य गरी पठाउने कार्य गर्दै आएका भए पनि अनुगमन नहुँदा इटहरीमा कन्सल्टेन्सीको नाममा ठगी धन्दा मौलाएको छ ।

सम्बन्धित निकाय वैदेशिक रोजगार विभाग, श्रम तथा रोजगार कार्यालय, स्थानीयस्तरका वैदेशिक रोजगार व्यवसायी सङ्घले चासो दिएको छैन । इटहरी–६ स्थित ई टु डब्ल्युले युरोपियन देशहरूमा राम्रो रोजगारी पाउने भन्दै २ सयभन्दा बढीलाई ठगेर फरार भएको छ । क्यानडा, पोर्चुगल, सर्विया, साइप्रस, रोमानीयालगायतका देशहरूमा पठाउने भन्दै इटहरी, धरान, सुन्दरहरैँचा, विराटनगर, सिरहा, सप्तरी, लेटाङलगायतका दुई सयभन्दा बढीलाई ठगेर कन्सल्टेन्सी सञ्चालक विक्रम बराइली हाल बेपत्ता भएको पीडितहरूले बताएका छन् ।

जग्गा धितो राखेर चर्काे ब्याजमा ऋण लिई लेटाङ–४ का मोहन बस्नेतले एड्भान्सबापत ३ लाख रुपैयाँ कन्सल्टेन्सी सञ्चालकलाई बुझाएको तर, हाल सञ्चालक बेपत्ता बनेको बताए । रकम बुझाएको २ महिनाभित्र भिसा आइसक्ने र बाँकी ८ लाख त्यतिबेलै बुझाउने भनिएको उनले बताए ।

तर, ३ महिना बित्दा पनि कुनै खबर नआएपछि इटहरीस्थित कार्यालयमै पुगेर बुझ्दा सञ्चालक विक्रम बराइली बेपत्ता भएको थाहा पाएपछि आफ्नो रकम डुबेकोमा चिन्ता बढेको उनले सुनाए । फरार सञ्चालक बराइलीको खोजी गरी आफूहरूको रकम फिर्ता गराइदिन र नियमविपरीत सञ्चालन भएका कन्सल्टेन्सी खारेज गर्न पीडितहरूले माग गरेका छन् । पीडितहरूले सोमबार कन्सल्टेन्सीको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

कन्सल्टेन्सीविरुद्ध गुनासो आएलगत्तै स्थलगत अनुगमन गरी पीडितहरूको कुरा सुनेको र त्यहाँको वस्तुस्थितिबारे अध्ययन गरी फर्किएको श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत डम्मरूवल्लभ बरालले बताए । उनले कन्सल्टेन्सीविरुद्ध अनुसन्धान हुने र दोषी देखिए कानूनबमोजिम कारबाही गरिने बताए ।

इटहरीका कन्सल्टेन्सीहरूले विद्यार्थीहरूलाई विदेश पठाउने बहानामा मान्छे उडाउने काम गरिरहेकाले त्यस्ता अवैध कन्सल्टेन्सीहरू खोजी गरी कारबाही गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायी सङ्घ सुनसरीका अध्यक्ष दुर्गा थापाले बताए । इटहरीभित्र मात्रै करिब दुई दर्जन कन्सल्टेन्सी रहेका छन् ।