विराटनगर । मोरङ विराटनगरस्थित विराट नर्सिङ होमभित्र रहेको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्यावले नयाँ भवनबाट सेवा सुरु गरेको छ ।

नवनिर्मित आधुनिक भवनबाट सोमबारदेखि सेवा सुरु गरेको हो । भवनको उद्घाटन अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले गरे । उनले अत्याधुनिक सुविधा सम्पन्न भवनबाट गुणस्तरीय सेवा दिन थालेको बताए । नयाँ प्रविधि र स्वचालित मेसिनबाट ल्याव परीक्षण गरेर सेवा प्रदान गर्दै आएको उनले बताए । विराटले आफ्नो ल्यावलाई आईएसओ र बायोर्याड सर्टिफाइड प्रयोगशाला रहेको दाबी गरेको छ । २०५० सालमा स्थापित अस्पतालमा ५० करोड रुपैयाँभन्दा बढी लगानी रहेको उनले बताए ।

विराट इन्टरनेशनल डाइग्नोस्टिक ल्याव प्रा.लि.का प्रशासन प्रमुख अमित कुसवाहाले बायोर्याड र आइएसओसँग आबद्ध भएर सर्टिफाइड प्रयोगशाला भएका कारणले गुणस्तरीय सेवाप्रति सर्वसाधारणको विश्वास बढेको बताए । ‘विराटको ल्याव त्यस्तो ल्याव हो, जहाँबाट तयार हुने अधिकांश रिपोर्ट डाक्टरले भेरिफाइ गर्छन् । धेरैमा टेक्निसियनको साइन राखेर रिपोर्ट दिइन्छ होला । तर, यहाँ डाक्टरले भेरिफाइ गर्छन् । हामीसँग प्याथोलोजिस्ट छन् । एक जना माइक्रोबायोलोजिष्टसहित ९० जनाको टिमले विराटको ‘बी क्याटेगोरी’ मा देशकै नमुना प्रयोगशाला बनाउने महŒवपूर्ण सफलता हात पारेको छ’–कुसवाहाले भने ।

उच्च गुणस्तर कायम गरेकै कारण विराटको प्रयोगशालाबाट वार्षिक हजारौँले सेवा लिने गरेको वरिष्ठ प्याथोलोजिष्ट डा. श्रीपाद वालावलकरले बताए । ‘विराटले आफ्नो ल्यावोरेटरीको क्वालिटी कन्ट्रोलमा जुन लगानी गरेका छौँ, त्यही कारण यहाँबाट दिने रिपोर्ट सधैँ अब्बल हुन्छ । सेवाग्राहीको फिडब्याक पनि राम्रो छ र बिरामीको भरोसा पनि बढेको छ’–उनले भने । विराट इन्टरनेसनल डाइग्नोस्टिक ल्याव प्रा.लि.का डाइरेक्टर तथा वरिष्ठ रेडियोलोजिष्ट डा. सुशील तपरियाले ल्यावमा नमुना परीक्षणका लागि प्रयोग हुने सबै उपकरणहरू अन्तर्राष्ट्रियस्तरका रहेको बताए ।

पूर्वी नेपालमा पहिलो पटक विराटले स्वचालित एलर्जी परीक्षणको लागि अत्याधुनिक उपकरण पनि ल्याएको उनले बताए । अब रगतबाट एलर्जीको परीक्षण हुने उनको भनाइ छ । यसअघि छालाबाट गरिन्थ्यो । ल्यावमा प्याथोलोजीको सम्पूर्ण सेवाहरू छन् । गुणस्तरीय सेवा दिने अल्ट्रासाउन्ड र इको रहेको अस्पतालले जनाएको छ । ब्रेस्ट क्यान्सर पत्ता लगाउने म्यामोग्राफी पनि यहाँ रहेको छ । त्यसको लागि नयाँ मेसिन ल्याइएको छ ।