इटहरी । नेपाल–भारत मानव विकास एवम् मैत्री सङ्घका अध्यक्ष सूर्य भुसालले शीर्षदलका नेताहरू स्वार्थको राजनीतिमा लागेका कारण देशको विकास डामाडोल बनेको बताएका छन् ।

सुनसरीको इटहरीमा आइतबार पत्रकार भेटघाटको क्रममा उनले लोकतन्त्र स्थापनापछि नेपालले भारतबाट सोचेअनुरूपको फाइदा लिन नसकेको टिप्पणी गरे । उनी भारतको दिल्लीमा बसेर दुई देशबीचको समानता र उत्पन्न विवादबारे पत्रकारिता गर्दै आएका छन् । दुई देशको अर्थराजनीतिबारे बुझेका भुसालले २०६२÷०६३ को जनआन्दोलनपश्चात् नेपालको एकता कमजोर बनेको बताए ।

अन्तर्राष्ट्रिय बजारमा नेपालको पहुँच कमजोर बनेकोले वर्तमान सरकारलाई चासो राख्न समस्त नेपालीले दबाव सिर्जना गर्नुपर्ने बताए । हुम्ला, जुम्लाको स्याउ र मनकामनाको सुन्तला भारतीय बजारमा माग रहे पनि यातायातको साधन र बजार जोड्ने राजमार्ग नहुँदा कृषकहरूले वर्षाैंदेखि सास्ती खेप्दै आएको अध्यक्ष भुसालले बताए ।

उनले भारतको हेपाहा प्रवृत्तिबारे खुलेर बोल्न नचाहने तर, सामाजिक सञ्जालमा भने सक्दो गालीगलौज गरेर उल्टै छिमेकी देशलाई नै चिढ्याउने गरेको बताए । अध्यक्ष भुसालले सार्कको केन्द्रीय कार्यालय नेपालमा भए पनि गतिविधि शून्य बनाइदिँदा सार्क नै लङ्गडो भएको बताए ।