धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचारले सीमा नाघेको छ । यही कारण बीपी प्रतिष्ठान रहने कि नरहने भन्ने प्रश्न पनि बेला–बेला उठिरहन्छ । पूर्वको रेफरल सेन्टर मात्रै नभई अध्ययनअनुसन्धानको एउटा केन्द्रको रुपमा स्थापित यो अस्पतालमा हुने चरम् भ्रष्टाचारले चुली छोएको छ । यसको पछिल्लो उदाहरणको रुपमा भेन्टिलेटर खरिद प्रकरणलाई लिन सकिन्छ । जहाँ महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा स्पष्टसँग भ्रष्टाचार भएको तथ्यहरु सार्वजनिक गरेको छ । मातृशिशु भवन निर्माण सम्पन्न नै नभई भेन्टिलेटर खरिद गरिएको छ । यसमा अनेकन समस्याहरु देखिएका छन् । पहिलो त ठेक्का हाल्ने दुईवटा कम्पनी एउटै व्यक्तिको फेला परेको छ । त्यसमा पनि फर्जी प्रमाण–पत्र पेश गरी ठेक्का प्राप्त गरेको छ । दोस्रो भनेको भवन निर्माण सम्पन्न नभई ती सामग्री कहाँ–कहाँ राख्ने कस्तो प्रकृतिको भेन्टिलेटर आवश्यक पर्छ भन्ने कुरा प्रमाणित नगरी किनेर थन्क्याएको अवस्था छ । तेस्रो जसले भेन्टिलेटर भनिएजस्तो ‘स्पेसिफिकेसन’ मा आए–नआएको विषयमा गम्भीर भएर अनुसन्धान गरी प्रतिवेदन दिनुपर्नेमा सामान्य किसिमले ठीक छ भनी दिएको अवस्था छ । अर्कोतिर ठेकेदार कम्पनीले ४० प्रतिशत बैङ्क ग्यारेन्टी गरेको अवस्थामा बीपी प्रतिष्ठान प्रशासनले हतारोमा ९० प्रतिशत भुक्तानी गरेको अवस्था छ । यस्तै उपकुलपतिदेखि थुप्रै कर्मचारीहरुले आफूखुसी पेश्की लिएको अवस्था छ । यस्ता अनेकन समस्यालाई महालेखा परीक्षकको प्रतिवेदनले पहिचान गरेको छ । यसलाई सामान्य भन्न नमिल्ने भनी भनेको अवस्था छ तर, यस विषयमा हालसम्म कुनै कारबाही भएको अवस्था छैन ।

सर्वप्रथमतः ठेक्का हाल्ने दुईवटै कम्पनीको एकै सञ्चालक रहेको अवस्था नै गडबडी छ । त्यहाँ नै त्रुटि छ । एउटै सञ्चालकका दुईवटा कम्पनीले ठेक्का हालेको अवस्थामा बोलपत्र नै रद्द गर्नुपर्ने व्यवस्था हो । सार्वजनिक खरिद ऐन २०६३ को दफा २६(६) मा कुनै पनि बोलपत्र आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा बोलपत्र रद्द हुने व्यवस्था छ । यसतर्फ कत्ति पनि ध्यान दिएको अवस्था छैन । अर्कोतिर ४० प्रतिशत मात्रै बैङ्क ग्यारेन्टी गरेको कम्पनीलाई कसरी प्रतिष्ठान प्रशासनले कुन दायरामा रहेर ९० प्रतिशत भुक्तानी गरेको हो ? त्यो शङ्का गर्न योग्य छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६ मा निर्माणस्थलको व्यवस्था नभई बोलपत्र आह्वान गर्न नहुने भनेको छ । यस्ता अनेकन् समस्याहरुमा पनि प्रतिष्ठान प्रशासनका पदाधिकारीहरुले कुनै न कुनै खोट गरेको अवस्था छ । यसमा सम्बन्धित निकायको ध्यानाकर्षण भएको पाइएको छैन । उक्त भेन्टिलेटर खरिद प्रकरणमा हालका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा बनेको समितिले पनि त्रुटि गरेका कुराहरुसहितको प्रतिवेदन दिएको देखिन्छ । उक्त प्रतिवेदनले औंल्याएका कुरामा पनि प्रतिष्ठान प्रशासन मौन देखिन्छ । यसले पनि भ्रष्टाचार भएको अनुमान गर्न सकिने प्रशस्तै ठाउँहरु छन् । नेपाल सरकारले आर्थिक वर्ष २०७८÷०७९ मा १० करोड रूपैयाँ भेन्टिलेटर खरिदका लागि रकम प्रदान गरेको थियो । यता उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आपूर्तिकर्तासँग २०७९ असार २७ गते आठ करोड ८० लाख ४० हजार रूपैयाँ लागत अनुमान स्वीकृत गरी बोलपत्र गरेको अवस्था छ । यस्ता विविध समस्याहरु देखिएका छन् ।

बीपी पूर्वको शान मात्रै हैन, यो एउटा विशेषज्ञ सुविधा भएको अस्पताल पनि हो । यो अस्पतालमा बिरामी मात्रै आउँदैनन् । यहाँ अध्ययनका लागि नेपालका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु पनि आउने गरेका छन् । विगतमा त भारत तथा बङ्गलादेशसम्मका विद्यार्थीहरु आउने गरेका थिए । त्यहाँबाट आउने विद्यार्थीहरुबाट परीक्षाको नाममा तथा भर्नाको नाममा अनेकन असुली हुने गरेको तथ्य पनि यसअघि सार्वजनिक नभएका होइनन् । यहाँ अनुसन्धानको कामहरु प्रशस्तै हुने गरेका छन् । यस्तो गरिमामय अस्पताल तथा अध्ययन अनुसन्धान हुने शैक्षिक प्रतिष्ठानलाई डुबाउने खेलहरु विगतदेखि हुँदै आएका छन् । यसतर्फ धरानेहरु साथै राज्य सञ्चालकहरुको ध्यान जानुपर्छ । तर, त्यसो हुन सकेको छैन । दैनानुदिन आर्थिक अपचलनका कारण जीर्ण बन्दै गइरहेको छ । कमिसनतन्त्र, घुसखोरी, भ्रष्टाचारले आक्रान्त भएको अवस्था छ । जो कोही पनि कमाउ धन्दामा लागेको अवस्था छ । यस्तो परिस्थितिबाट बीपी प्रतिष्ठान अगाडि बढ्न सक्दैन । महालेखा परीक्षकले हरेक वर्षको प्रतिवेदनमा केही न केही कुराहरु औँल्याइरहेको पाउँछौँ । त्यसतर्फ कत्ति पनि ध्यान दिएको पाइँदैन । यस्तो हुनुमा राजनीतिक दलहरु, नेताहरु, मन्त्रीहरु पनि कुनै न कुनै कृत्यमा संलग्न छन् भन्ने पुष्टि हुन्छ । बीपी प्रतिष्ठानको गरिमालाई उचो बनाउनका लागि सबैको ध्यान जानुपर्ने हो । भ्रष्टाचार भइरहेको कुरा औँल्याउँदा पनि सम्बन्धित निकायहरुको ध्यान नजानु चाहिँ अचम्मलाग्दो कुरा छ । यस घटनामा जो जति संलग्न छन्, तिनीहरुलाई कारबाही गर्ने वातावरण तयार गर्नुपर्छ । ता कि प्रतिष्ठानमा हुने गरेका गलत क्रियाकलापहरुको अन्त्य हुन सकोस् ।