बराहक्षेत्र-२ स्थित वराह सिर्जनशील समाजको आयोजनामा 'नाइन-ए- साइड' नक आउट फुटबल प्रतियोगिता 'पुनरबास रमाइलो फुटबल कप' को उद्घाटन खेलमा हाटखोला फुटबल क्लब 'ए' विजयी भएको छ । 

टाइब्रेकरमा ४-२ गोल अन्तरले बगुवा फुटबल क्लबलाई पराजित गर्दै हाटखोला 'ए' अघिल्लो चरणमा प्रवेश गरेको छ । 

विपक्षीको दुई गोल रोकेका सौरव बराल म्यान अफ द म्याच बन्दा उनले नगद १ हजार ५ सय रुपैयाँ नगद हात पारे । उद्घाटन समारोहकी प्रमुख अतिथि प्रदेश सभा सदस्य ममता तामाङले नगद पुरस्कार हस्तान्तरण गरिन् । 

पुनरबासस्थित रमाइलो चोक खेल मैदानमा आयोजित पहिलो  उद्घाटन खेलमा बगुवा फुटबल क्लब बराहक्षेत्र १ र हाटखोला 'ए' फुटबल क्लब बराहक्षेत्र-२ ले पहिलो हाफमा बराबरी खेले । 

हाटखोलाका तर्फबाट खेलको पहिलो आठौं मिनेटमा रोहन राईले गोल गरे । विपक्षी बगुवाकातर्फबाट खेलको २७ औं मिनेटमा रायाहाङ राईले खेललाई बराबरी अवस्थामा पुर्याए । 

दोस्रो हाफमा दुबै टिमले खेलेको सङ्घर्षपूर्ण खेल गोलरहित बनेपछि एन्फा निर्णायक यमबहादुर तामाङले खेललाई टाइब्रेकरमा लाने निर्णय गरेका थिए । पेनाल्टी सुटआउटमा हाटखोला ४-२ ले विजयी बन्यो । 

प्रतियोगिताको औपचारिक उद्घाटन कोशी प्रदेशकी सांसद ममता तामाङले गरेकी थिइन् । 

प्रतियोगितामा आयोजकसँगै चतरा फुटबल क्लब, सगरमाथा क्लब, हाटखोला 'बी', जब्दी फुटबल क्लब र आयोजक 'बी' सहभागी छन् । प्रतियोगिताको फाइनल खेला आगामी जेठ १९ गते हुने आयोजकले जनाएको छ । 

प्रतियोगिताको विजेताले नगद १५ हजारसहित ट्रफी र मेडल प्राप्त गर्ने छ । यस्तै उपविजेताले नगद १० हजारसहित ट्रफी मेडल प्राप्त गर्ने छ । भोलि आइतबारको खेल सगरमाथा फुटबल क्लब र  हाटखोला 'बी' बीच हुने आयोजक सचिव सुमन राईले जानकारी दिए ।