चतरा ब्याडमिन्टन क्लबको दोस्रो साधारण सभा शनिबार बराहक्षेत्र- २ स्थित शान्ति सिर्जना परिवारको सभा हलमा सम्पन्न भएको छ । 

कोशी प्रदेश सभा सदस्य ममता तामाङले अधिवेशनको औपचारिक कार्यक्रमको समुद्घाटन गरिन् । 

क्लबको दोस्रो साधारण सभाको अवसरमा अध्यक्ष उमेश बरुवालले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । 

अधिवेशनका क्रममा शुभकामना दिँदै सांसद तामाङले संस्था सञ्चालन गर्न चुनौती रहेको बताइन् । सामाजिक काम आत्मबलले गर्नु पर्ने बताउँदै उनले स्वास्थ्य सबल भए सामाजिक राजनीतिक काम गर्न सकिने बताइन् । शुभकामना दिंदै सांसद तामाङले  प्रदेश सरकारमा बजेट विनियोजन गर्न माग गर्ने बताइन् । 

सुनसरी ब्याडमिन्टन क्लबका उपाध्यक्ष तुलसी सुवेदीले चतरा ब्याडमिन्टन क्लबका लागि जिल्लामा भवन निर्माणलगायतका विषय उठाउने साथै सहयोग गर्ने बताए । दोस्रो साधारण सभाको अवसरमा शुभकामना दिँदै उनले ब्याडमिन्टन खेलका खेलाडी उत्पादनमा चुनौती रहेको बताए । 

स्थानीय शिक्षासेवी तथा खेलप्रेमी ओमकुमार शर्माले ४० वर्ष अघिदेखि नै चतरामा जिम हल स्थापना गरेको सम्झना गरे । उनले बक्सिङ खेल खेल्न त्यतिबेला नै सुरुवात गरेको बताए । उनले खेललाई निरन्तरता दिन आग्रह गरे । 

२०७७ सालमा स्थापना भएको चतरा ब्याडमिन्टन क्लबले आफ्नै कबर्ड हल साथै बहुउद्देश्यीय भवन निर्माणका लागि जग्गा प्राप्ति गरिसकेको छ । भवन निर्माणका लागि क्लबले स्थानीय सरकार र प्रदेश सरकारलाई बजेट विनियोजन गरिदिन आग्रह गरेको छ । 

२ वर्षको कार्यकाल रहेको क्लबको अध्यक्षको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति रहेको छ भने क्लबमा १५० सदस्य आवद्ध छन् ।

जग्गादातालाई सम्मान 

बराहक्षेत्र- २ स्थित पुनरबास निवासी दुर्गा सुवेदी र हरिमाया सुवेदीले ब्याडमिन्टन क्लबका लागि १५ धुर जग्गा प्रदान गरेका छन् । सुवेदी दम्पतिलाई क्लबको दोस्रो वार्षिक साधारण सभाका अवसरमा सम्मान गरिएको छ । 

सम्मान ग्रहण गर्दै जग्गादाता दुर्गा सुवेसीले आफूले हकभोग गर्दै आएको जग्गा खेलकुदको विकासका लागि प्रदान गरिएको बताए । उनले आफ्ना दिवंगत सासुससुराको स्मरणमा प्रदान गरेको बताए । 

अधिवेशनमा अतिथिहरुको स्वागत मन्तव्य सहसचिव ईन्द्र राईले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सदस्य पवित्रा राई र विदुर भट्टराईले गरेका थिए । 

अधिवेशनको अवसरमा ज्ञानबहादुर पाण्डे, विदुर भट्टराई, डम्बरप्रसाद सिग्देल, प्रह्लाद थापा, कृष्णप्रसाद गुरागाईं, नरकुमार राई, हरिकृष्ण भट्टराई, वडासदस्य झप्पड कट्वाल, ओमकुमार शर्मालगायतले शुभकामना मन्तव्य दिएका थिए ।

क्लबलाई आर्थिक सहयोग 

चतरा ब्याडमिन्टन क्लबलाई साधारण सभाको अवसरमा स्थानीयहरुले आर्थिक सहयोग गरेका छन् । 

स्थानीयहरु निल गहतराजले १० हजार रुपैयाँ, देवी गिरीले ५ सय ५ रुपैयाँ, योगेन्द्र गौतमले ५ हजार ५ रुपैयाँ, अम्बिका कार्कीले १ सय ५० रुपैयाँ, श्याम विष्टले १ सय ५५ रुपैयाँ प्रदान गरेका छन् । 

चतरा ब्याडमिन्टन क्लबको खेलकुद गतिविधि मासिक रुपमा खेलाडीबाट ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म सहयोग सङ्कलन गर्दै जारी राखेको क्लबका अध्यक्ष उमेश बरुवालले बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रमसमेत प्रस्तुत गरे ।