धरान । सुनसरी जिल्लास्तरीय ‘ए’ डिभिजन लिगको उपाधि धरान फुटबल क्लबले जितेको छ ।

एन्फा सुनसरीको आयोजनामा धरान रङ्गशालामा बिहीबार सम्पन्न फाइनल खेलमा इटहरीको राष्ट्रिय जागृति क्लबलाई सडन डेथमा ५–४ गोलअन्तरले पराजित गर्दै धरान फुटबल क्लबले उपाधि जितेको हो । उपाधिसँगै नगद ५० हजारसहित ट्रफी पाएकोे छ ।

यस्तै उपविजेतामा सीमित जागृतिले नगद २५ हजार र तेस्रो हुने बोइज फुटबल क्लब र गोधुली क्लबले जनही नगद १० हजार रुपैयाँ पाएको छ । निर्धारित ८० मिनेटको खेलमा १–१ को बराबरीमा रोकिएपछि सिधै टाइब्रेकरबाट नतिजा आएको हो । खेलमा जागृतिबाट प्रशान्त सुब्बा र धरानबाट सुजन इङ्नामले गोल गरेका थिए । टाइब्रेकरमा पनि ४–४ गोल भएपछि सडन डेथबाट धरानले उपाधि जित्न सफल भएको एन्फा सुनसरीका अध्यक्ष नवीन राईले जानकारी दिए ।

यस्तै खेलमा बेस्ट गोलकिपर र बेस्ट प्लेयरमा धरान फुटबल क्लबका गोलरक्षक सचिन श्रेष्ठ घोषित भए । यस्तै म्यान अफ द म्याच जागृतिका प्रशान्त सुब्बा भए ।

त्यस्तै बेस्ट डिफेन्डरमा धरानका प्रितम लिम्बू, बेस्ट मिडफिल्डर जागृतिका योगन्द्र कार्की, बेस्ट स्ट्राइकरमा जागृतिका स्मित तामाङ, बेस्ट कोचमा धरानका हेम गुरुङ भए । यस्तै सर्वाधिक गोलकर्तामा धरानका निकेन राई, जागृतिका स्मित तामाङ र संयुक्त युवा क्लबका कविन्द्रनयन चौधरी भएका थिए ।