विजयपुर । धरान–९ स्थित विष्णु मेमोरियल स्कुलका विद्यार्थीलाई निर्वाचन प्रणालीको अभ्यास गराइएको छ ।

बुधबार स्कुलका कक्षा ६ देखि १० सम्मका करिब ७ सय विद्यार्र्थीले निर्वाचनमा भाग लिए । स्कुलका प्रिन्सिपल निलम श्रेष्ठका अनुसार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको अभ्यास गराइएको हो । निर्वाचन प्रणालीमा गरिने सम्पूर्ण प्रक्रिया पूरा गरेर विद्यार्थीलाई अभ्यास गराइएको मुख्य निर्वाचन अधिकृतसमेत रहेका विद्यालयका माध्यमिक तहका संयोजक शम्भु रेग्मीले बताए । 

निर्वाचनबाट कक्षा ८, ९ र १० का विद्यार्थीहरूले एक जना स्कुल क्याप्टेन र एक जना भाइस क्याप्टेन निर्वाचित गरे भने कक्षा ६ देखि १० सम्मका विद्यार्थीबाट रेडक्रस सर्कलको नयाँ कार्य समिति निर्वाचित हुनेछन् । निर्वाचनमा धरान उपमहानगरका शिक्षा महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाले प्रयोगात्मक अभ्यासले विद्यार्थीमा निर्वाचन प्रणालीको व्यावहारिक ज्ञान र भविष्यमा निष्पक्ष मतदानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका सुनसरी सभापति उमेश थापा, उपसभापति मुकुल कायस्थ, धरान–९ का वडाध्यक्ष रूपेश आचार्य, कार्यपालिका सदस्य विकास भाटी, महिला नेतृ रमिता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।