वराहक्षेत्रस्थित चतरा अस्पतालमा नसर्ने रोगहरुको क्लिनिकको उद्घाटन गरिएको छ । 

बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सन्जीवकुमार शर्मा, केएचडिसी नेपालका अध्यक्ष प्राडा  राजेन्द्र पोख्रेलले नसर्ने रोगहरु मधुमेह, रक्तचाप, मुटु रोग, मृगौला रोग र दम रोगको क्लिनिक सञ्चालनका लागि औपचारिक समुद्घाटन गरे । 

किड्नी, हाइपरटेन्सन, डाइबेटिज, कार्डियोभास्कुलर (केएचडिसी नेपाल) र चतरा अस्पतालको संयुक्त आयोजनामा क्लिनिक सञ्चालन हुने चतरा अस्पतालका निमित्त कार्यालय प्रमुख योगेन्द्र कट्टेलले बताए ।

उद्घाटन समारोहमा बराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार, चतरा अस्पतालका अध्यक्ष तथा बराहक्षेत्र २ का वडाध्यक्ष होमप्रसाद गौतम, १ नम्बर वडाध्यक्ष किसन थापालगायतको उपस्थिति थियो । कार्यक्रमको सन्चालन गोकुल गुरागाईंले गरेका थिए । 

१८ दिनमा ११० जना दीर्घ रोगीको परीक्षण 

चतरा अस्पतालमा विगत १८ दिनमा १ सय १० जना दीर्घ रोगीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्ता दीर्घ रोगीहरु औषधि सेवन गरिरहेका र नयाँ पहिचान गरिएका समेत रहेको अस्पतालमा कार्यरत केएचडिसी मेडिकल अधिकृत डा नवीन अधिकारीले जानकारी दिए । 

परीक्षण गरिएका १ सय १० जना बिरामीमध्ये ८३ जना बिरामी उच्चरक्तचापमा रहेको डा अधिकारीले बताए । त्यसमध्ये मधुमेहका ३९ जना दीर्घ रोगी रहेका छन् ।  मुटुरोगसम्बन्धी ६ जना, दमका ५ र आस्ज्माका बिरामी १ जना पाइएको डा अधिकारीले बताए ।

औषधि सेवन गरे पनि खानपिन र आहार- व्यायाममा ध्यान नदिनाले दीर्घ रोगीहरुमा रोगको समस्या नियन्त्रण हुन नसकेको डा अधिकारीले बताए । अस्पतालमा सबै प्रकारका रोगका बिरामी आउने गरेकाले दीर्घरोगका बिरामीलाई उपचार- परामर्शमा समस्या भइरहेकाले छुट्टै क्लिनिक सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । 

मधुमेह, रक्तचाप, मृगौला रोगलगायतका उपचारको क्लिनिक बुधबारबाहेक बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म चतरा अस्पतालमा सञ्चालन हुने अस्पतालका प्रवक्ता यम भण्डारीले जानकारी दिए । उनका अनुसार १५ शय्या स्वीकृत चतरा अस्पतालले हाल २५ शय्यासम्म सेवा दिंदै आएको छ ।