धरान–२० का स्थानीयले कोकाहाको खानेपानी सहमति नभई पाइप नबिछ्याउन माग गरेका छन् ।

बुधबार प्राकृतिक स्रोत साधन संरक्षण समितिका अध्यक्ष पदम लिम्बू र सचिव जीवन राईसहितका स्थानीयले नगर प्रमुख  हर्कराज रार्ईलाई ध्यानाकर्षण पत्र बुझाउँदै सहमति नगरी पाइप नबिछ्याउन माग  गरेका हुन् । ध्यानाकर्षण पत्रमा धरान–२० का बासिन्दाको मागसमेतलाई मध्यनजर गरी हाललाई विवादित कोकाहाको खानेपानी दुवै पक्षको सहमति नभई खानेपानी पाइप नबिछ्याउन र मागको सुनुवाइ नभए पछि भइपरिआउने सम्पूर्ण जिम्मेवारी स्थानीय नगर सरकारले लिनुपर्ने उल्लेख गरिएको छ ।

धरान–२० का स्वाँरा बागदशे डाँडामा कोकाहाको पानी लिफ्टिङ गर्ने ध्यानाकर्षण–पत्रमा उल्लेख गरिएको छ । एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट धरानमा निर्माण हुन लागेको एकीकृत आयोजनामा धरान–२० लाई समावेश गर्न माग गरिएको छ । 

स्वाँरा पोखरी खेल मैदानदेखि स्वाँरा खानेपानी लिफ्टिङ भएको ट्याङ्कीसम्म सडक स्तरोन्नति गर्न माग गरेको छ । धरान–२० का २ सय १३ घरधुरीलाई पानीको समस्या समाधान गर्न ५० हजार लिटरको ट्याङ्की निर्माण गरी खानेपानी समस्या समाधान गर्न माग गरेको हो । उनीहरूको ध्यानाकर्षण पत्रमा धरानमा भौतिक पूर्वाधारको विकास नभएको उल्लेख गरिएको छ । 

एक दशकमा ३ किलोमिटरमा मात्रै कालोपत्रे भएको ध्यानाकर्षण पत्रमा भनिएको छ । नगर प्रमुख राईलाई धरान–२० का स्थानीयले खानेपानीको मुख्य स्रोत स्थानीय सरकारसँग समन्वय नगरी लानु कति नियमसम्मत हुन्छ ? भनी प्रश्न गरेका छन् । हाल स्वाँरा टोललगायत धरान–२० का २ सय १३ घरधुरीले पम्पिङ गरी खानेपानी उपभोग गरिआएको नगर प्रमुख राईलाई स्मरण गराएका छन् । प्रत्येक घरधुरीले मासिक ९ सय रुपैयाँ महसुल तिरिरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । धरान–२० का माछामारा, बाघखोपलगायतका क्षेत्रमा खानेपानीको हाहाकार भएको उल्लेख गरिएको छ ।