धरान । विगत ३ वर्षदेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको ५७ औं संस्करण सम्पन्न भएको छ । परिवर्तनका लागि सामाजिक अभियानद्वारा हरेक पाक्षिकरूपमा आयोजना हँुूदै आएको कार्यक्रम यसपल्ट धुलिखेल समाज धरानसँगको सहकार्यमा आयोजना भएको छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परीक्षण गरिने यस क्लिनिकमा मुटु, मधुमेह र उच्च रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताएका छन् । उक्त क्लिनिकमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको बरालले बताएका छन् । धुलिखेल समाजको भवनमा आयोजित उक्त शिविरमा मधुमेह परीक्षण र औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

परिवर्तनका लागि सामाजिक अभियानले धरानको विभिन्न वडाहरूका साथै इटहरी, इनरुवा, वराहक्षेत्र, झापा गाउँपालिकामा यो कार्यक्रम आयोजना गरिसकेको छ । यस्ता प्रकारका कार्यक्रम आयोजना गरी समाजका ज्येष्ठ नागरिकहरूका लागि सहजरूपमा स्वास्थ्य परीक्षण गराउन पाएकोमा धुलिखेल समाजका अध्यक्ष सुनिल श्रेष्ठले अभियानप्रति आभार व्यक्त गरेका थिए ।