इनरुवा । भोक्राहा नरसिंह गाउँपालिकाले पाँच सय किसानलाई सिँचाइ सामग्री वितरण गरेको छ । गाउँपालिकाले सबै वडाको प्रतिनिधित्व हुने गरी पहिलो चरणमा पाँच सय किसानलाई उक्त सामग्री बाँडेको हो ।

गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रमकाबीच पालिका अध्यक्ष अजमल अख्तर मियाँ र प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले किसानहरूलाई सिँचाइ सामग्री हस्तान्तरण गरेका हुन् । वडानम्बर २ बाट थालिएको वितरण कार्यलाई पालैपालो अन्य वडामा विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए । घिमिरेका अनुसार पालिकाको स्वीकृत कार्यक्रम बमोजिम किसानका लागि सिँचाइ सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री वितरण कार्यक्रममा प्रशासकीय अधिकृत घिमिरेले निःशुल्क पाएको सरसामानको उचित प्रयोग गर्न आग्रह गरे । उनले पालिकाले उपलब्ध गराएको सामग्रीको दुरुपयोग भएको पाएमा सम्बन्धित सामग्री बुझेको परिवारको हकमा गाउँपालिकाले उपलब्ध गराउने सेवा सुविधामा रोक लगाइने बताए । कम लागतमा मापदण्डअनुरूपको गुणस्तरीय सामग्री खरिद गरी किसानलाई निःशुल्क उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष अजमल अख्तर मियाँले बताए । उनले जलस्रोत तथा सिँचाइ उपक्षेत्रमा स्यालो ट्युवेल तथा मोटर जडान कार्यक्रम अन्तर्गत सिँचाइ सामग्री बाँडिएको बताए ।

क्रमशः थप किसानलाई समेत कार्यक्रममा समेट्दै लैजाने पालिकाको नीति रहेको उनले बताए । अध्यक्ष अजमल अख्तरले भने, ‘गाउँपालिकामा सबैभन्दा बढी खेती किसानी गर्नेहरू छन् । जसलाई पालिकाले प्राथमिकतामा राखेको छ । मलखादमा सहजता दिलाउँदै आएको पालिकाले किसानका लागि उचित सिँचाइको प्रबन्ध दिलाउन आवश्यक सहयोगी सामग्री वितरण गरेको हो । विद्युत् सहजतासँगै आवश्यक अन्य थप सामग्री र सेवालाई क्रमशः गाउँवासीको पहुँचमा पुर्याइनेछ ।’

सामग्री हस्तान्तरण कार्यक्रममा अध्यक्ष मियाँले गाउँपालिका गाउँबासीको हित र पालिकाको समुचित विकासमा केन्द्रित रहँदै आएको बताए । उनले गाउँमै उच्चशिक्षाको व्यवस्था, सामुदायिक विद्यालयमा कम्प्युटरसहितको अङ्ग्रेजी कक्षा, स्वास्थमा सबैको पहुँचका लागि विपन्न वर्गको स्वास्थ्य बिमा र विद्युत् सेवा उपभोगबापत छुटको व्यवस्था मिलाइएको बताए । उनले नयाँ खुलेर सञ्चालनमा आउन लागेको सप्तकोशी न्यूरो अस्पतालमा गाउँबासीको उपचारमा विशेष छुटको प्रबन्ध मिलाइएको समेत जनाए । अध्यक्ष अजमल अख्तरले विकास निर्माणमा गाउँवासीसहित सबै राजनैतिक दल र सरोकारवालाको साथ एवम् सहयोग अपरिहार्य रहेको बताए ।