विजयपुर/ दोस्रो अल्फा बिटा ओपन महिला÷पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, आईएसए, झापा र इमोर्टल क्लब विजयी भएका छन् ।

आइतबार सम्पन्न महिलातर्फको प्रतिस्पर्धामा  धरान मेघा, आईएसए नेपाल र इमोर्टल विजयी भएका हुन्। यस्तै पुरुषतर्फ झापा र इमोर्टल क्लब विजयी भएका छन्। महिलातर्फको खेलमा धरान मेघा कलेजले युवा जागृति क्लबलाई ४९–१०, आईएसए नेपालले तरहरालाई ४६–२ र इमोर्टलले इलुजन झापालाई २५–१५ अङ्कको अन्तरले पराजित गरेका थिए।

महिलातर्फ लिग कम नकआउटको आधारमा सम्पन्न खेलको ‘ए’ पोलमा आईएसए नेपालले दुवै खेलमा जित निकाल्दै समूहको अगाडि रहेको छ। यस्तै दुवै खेल खेलेका धरान मेघा कलेज र युवा जागृति क्लबले एक जित र एक हार नतिजा निकालेका छन्। तरहराले भने दुवै खेल गुमाएको छ। ए पोलका सबै टिमले एक–एक खेल खेल्न बाँकी रहेको छ।

महिलातर्फको बी पोल समूहमा भने एक–एक खेल खेलेका रेड डेभिल्स र इमोर्टलले एक–एक जित निकालेका छन् भने इलुजन झापा पराजित भएको छ। धरान बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको सहयोगमा प्रतियोगिता भइरहेको छ।

आज (सोमबार) हुने लिगको अन्तिम चरणको खेलमा युवा जागृतिले आईएसए नेपाल, धरान मेघा कलेजले तरहरा र रेड डेभिल्सले इलुजन झापासँग प्रतिस्पर्धा गर्नेछ। खेलको नतिजाले समूह ए र समूह बी को विजेता र उपविजेता निर्धारण गर्नेछ । समूह ए का विजेताले समूह बी का उपविजेता र समूह बी का विजेताले समूह ए का उपविजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी पुरुषतर्फ झापाले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारलाई ३८–१७ र इमोर्टल क्लबले धरान मेघा कलेजलाई ६५–३९ अङ्कको अन्तरले पराजित गरेको छ। नकआउटको आधारमा भएको पुरुषतर्फ आज (सोमबार) युवा जागृति र तरहरा ए तथा तरहरा बी र होराइजन बीच खेल हुनेछ।