धरान । पिण्डेश्वार पूर्ण महाकुम्भ मेला प्रारम्भ भएसँगै नेपाली काङ्ग्रेस क्षेत्र नं. १ सुनसरीले धरानको पिण्डेश्वर मन्दिर परिसरमा राखेको एक महिने निःशुल्क हेल्थ डेस्कबाट हालसम्म ५ हजारभन्दा बढीले स्वास्थ्य सेवा लिएका छन् ।

गत चैत २७ गतेबाट काङ्ग्रेसले सञ्चालन गरेको निःशुल्क हेल्थ डेस्कबाट हालसम्म सेवा लिने तीर्थालु भक्तजनहरूको सङ्ख्या ५ हजार १३ पुगेको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए ।

महाकुम्भ दर्शन गर्न आएका काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले समेत हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउँदै सुनसरी १ नं. क्षेत्रीय कार्यसमितिले अत्यन्तै उच्चस्तरको मानवीय सेवाको कार्य गरेको भन्दै प्रशंसा गरेका छन् । त्यसैगरी काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अर्जुननरसिंह के.सी. ले समेत स्वास्थ्य जाँच गराएका छन् । उनले पनि टाढाटाढाबाट आएका तीर्थालु भक्तजनहरूलाई स्वास्थ्य सेवा प्रवाह गरेर काङ्ग्रेसका साथीहरूले अत्यन्त पुण्यको कार्य गरेको बताएका छन् ।

हेल्थ डेस्कमा प्रेसर र सुगर जाँच हुनुका साथै आवश्यकतानुसार ग्याष्ट्रिकको औषधि, उल्टी रोक्ने औषधि, टाउको दुखाइ कम गर्ने औषधि, जीवन जल आदि औषधिहरू वितरण गर्ने, स्वास्थ्यसम्बन्धी जनचेतानमूलक पर्चा वितरण गर्ने तथा चोटपटक लागेमा डे«सिङको समेत व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा लिन आउने दर्शनार्थीहरूको प्रेसर र सुगर परीक्षण गरिनुका साथै आवश्यकतानुसार प्यानटप, आर–टिन, सिटामोल, जीवनजल, एभोमिनलगायतका औषधिहरू सेवन गर्न दिनुपरेको नेपाली काङ्ग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताईन ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीको आयोजनामा र  काङ्ग्रेसको क्षेत्रीय स्वास्थ्य विभागको संयोजनमा तथा नेपाली काङ्ग्रेस प्रदेशसभा १(१), १(२), धरान नगर, १४ नं. वडा र नेपाल महिला सङ्घको क्षेत्र, प्रदेशसभा १(१), १(२), धरान नगर कार्यसमितिको व्यवस्थापकीय सहयोगमा, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र अमर पोलिक्लिनिक धरान–१८ को सहयोगमा एक महिने निःशुल्क हेल्थ डेस्क राखिएको हो ।

हेल्थ डेस्क महाकुम्भ अवधिभर वैशाख २८ गतेसम्म रहने बताइएको छ । हेल्थ डेस्कमा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल परिवार नियोजन सङ्घ, विजयपुर अस्पताल, रोट्रयाक बीपीकेआईएचएसलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सेवा दिने गरेका छन् ।