भद्रपुर । झापाका एक जना शिक्षक पर्चासहित अभियानमा होमिएका छन् ।

हल्दीबारीस्थित लक्ष्मी मा.वि.मा कार्यरत शिक्षक पर्शुराम अधिकारीले सन्देशमूलक पर्चासहित गाउँ–गाउँ पुगेर अभिभावकलाई सचेत गराउन अभियानमा लागेका हुन् । विशेषगरी सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूका अभिभावकलाई सचेतना गराउने उद्देश्यले टोल–टोल, बस्ती–बस्ती र बजारमा समेत अभियान सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

सामुदायिक विद्यालयका अभिभावकहरूले बालबालिकालाई नियमित विद्यालय नपठाउने, बिहान–बेलुका बालबालिकाको अध्ययनबारे चासो नदिने भएपछि सजग गराउन शिक्षक अधिकारीले उक्त अभियान सञ्चालन गरेको उनले बताए । अभिभावकले विद्यालयमा खबरदारी गर्ने, शिक्षकसँग बालबालिकाको पढाइबारे चासो राख्ने र घरमा पनि बालबच्चालाई पढ्न लगाउनुहोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ ।

अभियानका क्रममा सन्देशमूलक पम्प्लेट राखिएको हुन्छ । जागृति क्याम्पस गोल्धापमा समेत पढाउँदै आएका अधिकारीले बालबालिकाको पठन–पाठनमा अभिभावकले चासो दिनुपर्छ भन्दै अभियान सञ्चालन गरेको जानकारी दिए । उनले सामुदायिक विद्यालयको नतिजा सुधारमा अभिभावकको भूमिका महŒवपूर्ण हुने बताए ।

दुई सातादेखि अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका अधिकारी हल्दीबारीका सन्थाल, महतो, दलित बस्ती, हल्दीबारी बजार, मङ्गलबारे बजार, चन्द्रगढीको लेखनाथ चोकमा प्लेकार्डसहित देखा परेका छन् । जहाँ उनको अभियानबारे सबैले चासोसमेत दिने गरेका छन् । कतिपय अभिभावकले बच्चाको समस्यासमेत सुनाउने गरेको उनले बताए ।

कमजोर विद्यार्थीहरूलाई विद्यालय समयपछि निःशुल्क कोचिङसमेत पढाउँदै आएका उनले छुट्टीको समयमा अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेको बताए । अभिभावक सचेतना अभियान सञ्चालन गरिरहेका शिक्षक अधिकारीले शिक्षा क्षेत्रप्रति अभिभावक र सरोकारवालाको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गरेका हुन् । चन्द्रगढी घर भएका शिक्षक अधिकारीले आफ्ना बालबच्चालाई आफूले शिक्षण गर्ने विद्यालयमा पढाइरहेको जानकारी दिए ।