पूर्वी पहाडकै प्रतिष्ठित फुटबल प्रतियोगिता सहिद भीमनारायण गोल्डकपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ । 

सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गरी यही आइतबारदेखि प्रतियोगिता सुरु हुने जनाएको हो । प्रतियोगितामा ए डिभिजनका क्लबसहित आठ टिम सहभागी हुने आयोजकले जनाएको छ । यही वैशाख २९ गतेसम्म तल्लो टुँडिखेलमा हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब काठमाडौँ र बिर्तामोड युनाइटेड क्लब झापा सहभागी हुनेछन् ।

यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए । 

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाण–पत्र हात पार्नेछन् । यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ । श्रेष्ठलाई सरकारले २०७४ सालमा सहिद घोषणा गरिसकेको छ ।