मोरङको पथरीशनिश्चरे नगरपालिका–१ को पञ्चायत मा.वि.मा दृष्टिविहीन राहत कोटा हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्त गर्ने तयारी गरेको पाइएको छ । 

विगत १८ वर्षदेखि रहेको प्राथमिक तह तृतीय श्रेणी अपाङ्ग दृष्टिविहीन राहत कोटाको दरबन्दी हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्ति गर्ने उद्देश्यले विद्यालयले विज्ञान आह्वान गरिएको पाइएको हो । विद्यालयले गत चैत २७ मा आवेदनको अन्तिम मिति राखेर चैत १३ मा शिक्षक नियुक्तिको विज्ञापन आह्वान गरेको छ ।

विज्ञापन नं. ०२÷२०८० राखेर दृष्टिविहीन राहत कोटा हटाएर खुल्लाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरेको हो । ५ पुस २०७७ मा अपाङ्ग दृष्टिविहीन राह त कोटाबाट सुन्दरहरैंचा नगरपालिका–११ का हरिबहादुर कार्कीलाई नियुक्त गरिएको थियो । दृष्टिविहीन शिक्षक कार्कीले स्थायीमा नाम निकालेपछि पञ्चायतमा अपाङ्ग दृष्टिविहीन राहत कोटाबाट नियुक्त हुने शिक्षक पद रिक्त रहेको थियो । 

पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले गत फागुन १ र चैत ७ को अनुमति–पत्रका आधारमा चैत १३ मा पञ्चायत विद्यालय व्यवस्थापन समितिको बैठकले अपाङ्गता दृष्टिविहीन राहत कोटा हटाएर खुल्लाबाट शिक्षक छनौट गर्ने तयारी गरेको हो ।

यता पञ्चायत मा.वि.का प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले दृष्टिविहीनको राहत कोटा हटाएको विषयमा भने आपसी समझदारीअनुसार साटफेर गरिएको प्रतिक्रिया दिए । ‘हरिबहादुर सरले शिक्षा सेवा आयोगबाट स्थायीमा नाम निकालेर अर्को विद्यालय जानुभएपछि नगरपालिकाले निर्णय गरेपछि रिक्त रहेको  ठाउँमा पदपूर्ति गर्ने भनेपछि हामीले विज्ञापन आह्वान गरेका हौँ’ प्रअ बुढाथोकीले भने, ‘उहाँहरूले उजुरी गरेपछि अब नगरपालिकाले आवश्यक निर्णय गरेपछि थप प्रक्रिया अगाडि बढाउनेछौँ ।’

दृष्टिविहीन कोटा हटाएपछि विरोध

१८ वर्षदेखि रहेको दृष्टिविहीन राहत कोटा हटाएर खुल्लातर्फबाट शिक्षक नियुक्ति गर्ने तयारी गरेपछि नेत्रहीन युवा सङ्घ नेपाल मोरङले विरोध गरेको छ । नेत्रहीन युवा सङ्घ मोरङका अध्यक्ष दुर्गानाथ योगीले तत्काल दृष्टिविहीन राहत कोटा पञ्चायत मा.वि.मा कायम गरिनुपर्ने र नयाँ विज्ञापन आह्वान गरिनुपर्ने माग राखेका छन् । 

‘वर्षौंदेखि दृष्टिविहीन शिक्षकले पञ्चायतमा अध्यापन गराउँदै आएका थिए । दृष्टिविहीन राहत कोटाबाट एक जना शिक्षक नियुक्ति हुने गरेको थियो । त्यो पनि हटाएर खुल्लाबाट शिक्षक नियुक्ति गर्ने तयारी गरिएको छ । यो गलत अभ्यास गर्न खोजिएको छ । तत्काल नगरपालिकाले सच्याएर दृष्टिविहीन राहत कोटा कायम हुनुपर्दछ’ अध्यक्ष योगीले भने, ‘विद्यालयले तत्काल नसच्याए हामी दृष्टिविहीनहरु आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ ।’ दृष्टिविहीन राहत कोटा कायम गरिनुपर्ने माग राख्दै पथरीशनिश्चरे नगरपालिकाको शिक्षा शाखा र पञ्चायत मा.वि.का प्रधानाध्यापकलाई पनि आफूहरुले ध्यानाकर्षण गराएको उनले बताए ।

शिक्षक नियुक्तिको परीक्षा स्थगित

नेत्रहीन युवा सङ्घ मोरङले विरोध जनाएपछि शुक्रबार हुने भनिएको परीक्षा विद्यालयले स्थगित गरेको छ । दृष्टिविहीन राहत कोटा हटाए प्राथमिक तह राहत दरबन्दीमा १३ जनाले आवेदन दिएको पञ्चायत मा.वि.का प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिए ।

शुक्रबार हुने भनिएको परीक्षा तत्काललाई स्थगित गरिएको उनले बताए । नगरपालिकामा नेत्रहीन युवा सङ्घ मोरङले उजुरी गरेपछि अहिले तत्काल रोकिएको उनले बताए । ‘नगरपालिकाको शिक्षा शाखाबाट थप जानकारी आएपछि शिक्षक नियुक्तिको परीक्षाको प्रक्रिया अगाडि बढनेछ’–प्रअ बुढाथोकीले भने । 

पथरीशनिश्चरे नगरपालिका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले समन्वय गर्ने काम गरिएकोले तत्काल परीक्षा नगरिएको बताए । ‘अहिले नियुक्ति भएको छैन । नेत्रहीन युवा सङ्घले राखेको मागको विषयमा हामीले पनि छलफल गरेका छौँ । त्यसको व्यवस्थापन हुनेछ’ उनले भने, ‘अहिले हामी छलफलमा रहेका छौँ ।’

पञ्चायत मा.वि.मा २६ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत रहेका छन् । दृष्टिविहीन कोटाबाट नियुक्त भएका शिक्षकले पथरीशनिश्चरे र सामाजिक विषय अध्यापन गराउँदै आएका छन् ।

दुई शिक्षकका लागि २३ जनाको आवेदन

पञ्चायत मा.वि.ले थप दुईजना रिक्त रहेको शिक्षक नियुक्तिको लागि विज्ञापन आह्वान गरेपछि २३ जनाले आवेदन हालेका छन् । प्राथमिक राहत दरबन्दी र साविक उच्च मा.वि. (गणित विषय) शिक्षक पदपूर्तिको लागि आह्वान गरिएको विज्ञापनमा २३ जनाले आवेदन दिएको विद्यालयले जनाएको छ ।

प्राथमिक तहमा २० जना र मा.वि.मा ३ जना शिक्षकले आवेदन दिएको प्रधानाध्यापक बुढाथोकीले जानकारी दिए । 

मा.वि.का गणित विषय पढाउने शिक्षक खगेन्द्र लामिछाने र प्राथमिक तहका शिक्षक हरिबहादुर कार्कीले स्थायीमा नाम निकालेपछि रिक्त रहेको दरबन्दी पदपूर्ति गर्न शिक्षक नियुक्तको तयारी गरेको हो । कक्षा १२ सम्म पढाइ हुने पञ्चायतमा ३ हजार एक सय ३३ जना विद्यार्थी अध्ययनरत छन् ।