पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालन भैरहेको कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकपको सेमिफाइनलमा आयोजक यलम्बर युवा संस्था प्रवेश गरेको छ ।

आइतबार पृथ्वी मा.वि.को खेलमैदानमा भएको पहिलो चरणको खेलमा धरान फुटबल क्लब धरानलाई १–४ को फराकिलो गोल अन्तरले हराउँदै आयोजक यलम्बर युवा संस्था सेमिफाइनलमा प्रवेश गरेको हो । आयोजकको जितको लागि दिल सम्बाहाम्फेले ४ गोल गरेका थिए भने धरानको तर्फबाट अन्तिम समयमा तपन कार्कीले सान्त्वना गोल फर्काएका थिए ।

धरानविरुद्ध खेलको ११ र २७ औं मिनेटमा डिफेन्सको कमजोरीलाई सदुपयोग गर्दै आयोजकका दिल सम्बाहाम्फेले २ गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको ४४ र ५७ औं मिनेटमा सम्बाहाम्फेले थप २ गोल गर्दै अङ्क दोब्बर बनाएका थिए । धरानको तर्फबाट अतिरिक्त समयमा तपन कार्कीले सान्त्वना गोल फर्काएका थिए । खेलको उकृष्ट खेलाडी आयोजकका दिल सम्बाहाम्फे घोषित हुँदै नगदसहित ट्रफी हात पारे । 

प्रतियोगिताको विजेता टिमले नगद ३ लाख ५५ हजार ५ सय ५५ रुपैँया र उपविजेता टिमले नगद १ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ हजार, बेस्ट डिफेण्डर, बेस्ट किपर, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ८ हजारको दरले पुरस्कार प्रदान गर्ने र बेस्ट कोचलाई ५ हजार साथै प्रत्येक दिनको म्यान अफ द म्याचलाई समेत एक हजार रुपैयाँको दरले पुरस्कार प्रदान गर्ने अयोजक संस्थाका अध्यक्ष भीमनारेन लावतीले जनाए । वैशाख २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक यलम्बर युवा क्लबसहित ८ टिमको सहभागिता रहेको छ ।