विराटनगर । टाइब्रेकरबाट जित निकाल्दै कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको जुटमिलको खेलमैदानमा सोमबार सम्पन्न भएको अन्तिम क्वार्टरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गोलबजार स्पोर्टिङ क्लब सिरहालाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै प्रहरी सेमिफाइनलमा पुगेको हो । जितसँगै प्रहरीले फाइनल प्रवेशको लागि बिहीबार घरेलु टिम पेमा युवा क्लब विराटनगरसँग खेल्नेछ । निर्धारित समयसम्म २–२ गोलको बराबारी भएपछि टाइब्रेकरबाट जितको छिनोफानो भएको हो ।

जितको लागि टाइब्रेकरमा प्रहरीको तर्फबाट उज्वल राई, सन्देश विक, विवेक राई र सुमित प्रधानले गोल गरेका थिए । गोलबजारको तर्फबाट विनोद राई र निरजल मोक्तानले मात्र गोल गरे । गौरव श्रेष्ठ र मीन धिमालको प्रहार प्रहरीका गोलकिपर पुरन राईले उत्कृष्ट बचाए । टाइब्रेकरमा दुई गोल सेभ गर्ने प्रहरीका पुरन खेलको प्लेयर अफ द म्याच घोषित भए ।

अन्तिम क्वार्टरफाइनल खेलको पहिलो हाफमा गोलबजार स्पोर्टिङ क्लब सिरहाले अग्रता लिएको थियो । खेल सुरु भएको १२ औं मिनेटमा निशान्त लिम्बूले गोल गरी टिमलाई अग्रता दिलाए । डिबक्सभित्र सन्दीप लिम्बूले निकालिदिएको पासमा गोलबजारका निशान्तले गोल गरे । दोस्रो हाफदेखि प्रहरीले आक्रामक खेल खेल्दै ४४ औं मिनेटमा रमेश राजवंशीले गोल गरी खेल १–१ गोलको बराबरीमा ल्याए ।

अभिषेक आलेमगरले निकालेको पासमा रमेशले गोल गरे  । खेल सकिन दुई मिनेट बाँकी रहँदा गोलबजारका विनोद राईले गोल गरी अग्रता दोब्बर बनाए । तर, गोलबजारले दोस्रो गोल गरेको एक मिनेट बित्न नपाउँदै प्रहरीको तर्फबाट विवेक राईले गोल गरी खेल २–२ गोलको बराबरीमा ल्याए ।

खेलको अन्तिममा गोलबजारका खेलाडी सम्हालिन नसक्दा चौथो संस्करणको मिल्स गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो । भोलि (बुधबार) हुने पहिलो सेमिफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी र कनकाई स्पोर्टिङ क्लब सुरुङ्गा झापाबीच हुनेछ ।

वैशाख १५ गते हुने फाइनलमा कोशी प्रदेशका ‘ए’ डिभिजनका ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २ लाख ११ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डङ्गोलले जानकारी दिए ।