विराटनगर । मोरङस्थित विराटनगर महानगरपालिका–१४ जतुवामा जग्गा विवादलाई लिएर दुईजना युवामाथि तरवार प्रहार गर्ने र निर्देशन दिनेलाई प्रहरीले नियन्त्रणमा नलिँदा पीडित परिवार त्रसित बनेका छन् ।

विराटनगर–१४ का पूर्व वडाध्यक्ष बलदेव यादवसहित ९ जनालाई प्रतिवादी बनाएर किटानी जाहेरी दिँदा पनि पक्राउ नगरिएपछि आफूहरू त्रसित भएको आइतबार पत्रकार सम्मेलन गरी जनाए । प्रहरीले राजनीतिक पहुँचको अधारमा पक्राउ नगरेको उनीहरूको आरोप छ ।

आरोपितहरू गाउँमै खुलेआम हिँड्डुल गर्ने र धाकधम्की दिँदै आएकाले विस्थापित हुने अवस्थामा पुगेको तरवार प्रहारबाट गम्भीर घाइते भएका सन्तलाल यादवको पत्नी ममता यादवले बताइन् । ‘तरवार प्रहार गर्ने र आक्रमण गर्न लगाउनेहरू अहिले पनि गाउँघरमै खुलेआम हिँड्डुल गर्दै आएका छन् । हामीले प्रहरी प्रशासनलाई पनि जानकारी गरायौँ । तर, प्रशासनले कुनै चासो नराखेपछि न्यायको लागि पत्रकार सम्मेलन गर्न बाध्य भयौँ’–गहभरि आँसु झार्दै उनले पत्रकार सम्मेलनमा भनिन् ।

केही गर्न सक्दैन भन्दै उनीहरू गाउँमै घुम्ने गरेकाले आफूसहित छोराछोरी त्रसित हुनुपरेको उनले बताइन् । तरवार प्रहार गर्ने अहिले गाउँघरमै हिँड्डुल गर्ने भएकोले त्रासले श्रीमान्लाई अस्पतालमा समेत भेट्न नगएको उनले बताइन् । २९ चैतमा विराटनगर–१४ का पुर्व वडाध्यक्ष बलदेव यादवको योजनामा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार गरेका थिए ।

तरवार प्रहारबाट सन्तलाल गम्भीर घाइते छन् । उनको विराट टिचिङ हस्पिटलमा अहिले पनि उपचार भइरहेको छ । पीडित परिवारले तरवार प्रहार गर्ने पूर्व वडाध्यक्ष बलदेवसहित ९ जनाविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा यही वैशाख ६ गते किटानी जाहेरी दर्ता गराएका थिए ।

इप्रका रानीमा विराटनगर–१४ का ६५ वर्षीय बलदेव यादव, सोही ठाउँका ३४ वर्षीय शङ्कर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शङ्कर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दीपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादवविरुद्ध किटानी जाहेरी पीडितले दर्ता गराएका छन् ।

किटानी जाहेरी दिएकामध्ये फुलेश्वर प्रहरी नियन्त्रणमा छन् । उनी बिरामी परेको भन्दै अहिले विराटनगरस्थित मेट्रो न्यूरो हस्पिटलमा रहेका छन् । घटनाको मुख्य अभियुक्त तरवार प्रहार गर्ने ३२ वर्षीय दीपेश यादव रहेको पीडितको भनाइ छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताए । जाहेरीमा उल्लेख भएका प्रतिवादीको खोजी कार्यमा प्रहरी लागिपरेको उनले बताए ।