नेपाल र भारतबीच कागजी रुपमै अध्यात्मिक सम्झौता हुनुपर्ने बागेश्वर धाम सरकारका नामले परिचित धीरेन्द्रकृष्ण शास्त्रीले अभिव्यक्ति दिएका छन् । 

उनले नेपाल सरकारले आफ्नो वक्तव्यलाई अनुगमन गरिरहेको हुनसक्ने बताउँदै उनले मानसरोवर कैलाश पर्वत पुग्न चिनको बाटो भएर जानुपरिरहेको अवस्थामा नेपाल र भारतबीचको अध्यात्मिक सम्झौताले नेपालबाट कैलाश जाने बाटो खोल्न सक्ने सङ्केत गरे । 

धर्मनिरपेक्ष मुलुक  नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र निर्माणमा जोड दिंदै शास्त्रीले विगत ५ दिनदेखि चतराधामस्थित रामानन्दाचार्य सेवा पीठमा हनुमद कथा वाचन गरिरहेका छन् । आज कथा वाचनको अन्तिम दिन नेपाल र भारतबीच कुटनीतिक रुपमा अध्यात्मिक सम्झौता हुनुपर्नेमा जोड दिए । उनले नेपालका हिन्दूलाई भड्काएको नभएर जगाएको अभिव्यक्ति दिएका छन् । 

जगदगुरु महायोगी सिद्धबाबाको निमन्त्रणामा हनुमद कथा वाचन गर्न आएका शास्त्रीले ५ दिनसम्म चतराधाम, वराहक्षेत्र, औलिया मठ, दन्तकाली, पिण्डेश्वरलगायत मुलुकका धार्मिक तीर्थहरुको प्रवर्धन गरिरहेका छन् । बागेश्वर धाम सरकार नामक फेसबुक, युट्युब र भारतीय टेलिभिजन 'संस्कार'बाट शास्त्रीले वाचन गरेको कथा प्रत्यक्ष प्रसारण हुँदै आएको छ ।स्थानीय सञ्चार माध्यमले समेत उनको प्रवचनलाई महत्व दिएर प्रचारप्रसार गरिरहेका छन् ।