विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २–० गोलले हराउँदै पेमा युवा क्लब विराटनगर सेमिफाइनलमा पुगेको हो । जितसँगै विराटनगरले फाइनल प्रवेशको लागि सोमबार अन्तिम क्वार्टर फाइनल खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी र गोलबजार स्पोर्टिङ क्लब गोलबजार सिरहाको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

जितको लागि विराटनगरको तर्फबाट बिजु भुजेल नायक भए । उनले टिमको जितको लागि व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भएर नगद तीन हजार रुपैयाँ पाए । पहिलो हाफसम्म गोलरहित खेल बराबारी भयो । दोस्रो हाफदेखि विराटनगरले धरानलाई दबावमा राख्न सफल भयो । दोस्रो हाफको ५५ औं मिनेटमा बिजु भुजेलले गोल गरी टिमलाई अग्रता दिलाए । धरानका गोलकिपर प्रभात राई अगाडि बढेको मौकामा विराटनगरका बिजुले ३० यार्डदेखि गरेको प्रहारले जाली चुम्यो ।

विराटनरले अग्रता लिएको ७ मिनेट बित्न नपाउँदै बिजुले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरी टिमको जित सुनिश्चित गरे । कमल खवासले कर्नर साइडबाट निकालेको पासलाई बिजुले गोलमा परिणत गरेका थिए ।

दुई गोल खाएपछि दबावमा परेको धरानले केही उत्कृष्ट अवसर खेर फाले । धरानका निर्मल लिम्बूले ६५ औं मिनेटमा गरेको कडा प्रहार बाहिरियो ।

त्यसलगत्तै धरानका कप्तान सुवास तामाङले डिबक्सभित्रैबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रमोजे गच्छदारले उत्कृष्ट बचाए । निश्चल लिम्बूले ७० औं मिनेटमा ३० यार्डबाट गरेको प्रहार बाहिरिँदा सान्त्वना गोल फर्काउने अवसर पनि खेर फाले । प्रतियोगिता अन्तर्गत आज (आइतबार)को खेल टिडब्ल्यु विराटनगर र कनकाई स्पोर्टिङ क्लब सुरुङगा झापाबीच हुनेछ ।