वराहक्षेत्रस्थित चतराधाममा लागिरहेको बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा शनिबार एकैदिन झण्डै २ लाख भक्तजनले महाकुम्भ स्नान गरेका छन् । 

महाकुम्भ स्नानपछि कुम्भ घडामा जलअर्पणसँगै चतराधामस्थित विभिन्न धार्मिक अखाडामा भक्तजनले दर्शन गरेको महाकुम्भ मेला मूल आयोजक समितिका सचिव चन्द्र मगरले जानकारी दिए । 

रामानन्दाचार्य सेवा पीठमा आयोजना भइरहेको श्री हनुमद महायज्ञ, श्री हनुमद कथा वाचन र दिव्यदरबारमा ५० हजार बढी भक्तजन पण्डालमै उपस्थित भएको पीठका अध्यक्ष श्यामकुमार लावतीले जानकारी दिए । उनले कथा, पण्डाल, हनुमान मन्दिर क्षेत्रमा झण्डै डेढ लाख भक्तजनले दर्शन गरेको जानकारी दिए । कथा वाचनको मुख्य पण्डाल १५ हजार स्क्वायर फिटको निर्माण गरिएको छ । 

पण्डाल आसपास र हनुमान मन्दिरबाटै प्रत्यक्ष कथा सुन्ने भक्तजनको सङ्ख्या उत्तिनै रहेको अध्यक्ष लावतीको भनाइ छ । 

वराहक्षेत्र मन्दिरमा पूजा अर्चना र दर्शन गर्ने भक्तजनको सङ्ख्या झण्डै १ लाखदेखि डेढ लाखको सङ्ख्यामा बराहक्षेत्र मन्दिर प्रवेश गरेको वराहक्षेत्र गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए । 

उनले जिल्लागतरुपमा कति भक्तजन आए भन्ने बारे तथ्याङ्क राखेको बताए । कुम्भ मेलामा तेस्रो मुलुकसहित भारतीय भक्तजनसँगै मधेश प्रदेशबाट समेत उल्लेखीय भक्तजन आएको उनले बताए ।