बागेश्वरधाम पीठाधीश धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले शनिबार चतराधाममा दिव्य दरबार (अर्जी) लगाउने कार्यक्रम रहेको छ । 

बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भका मेलाका अवसरमा श्री रामानन्दाचार्य सेवा पीठ चतराधाममा आयोजित पाँच दिवसीय हनुमद कथा वाचनका क्रममा शास्त्रीले चर्चित र बहुप्रतिक्षित दिव्यदरबार लगाउने भएका छन् । शुक्रबार तेस्रो दिनको हनुमद कथा वाचनका क्रममा उनले दिव्यदरबार सञ्चालन गर्ने बताएका हुन् । 

कथा वाचनको शनिबारको पहिलो सत्र मध्याह्न १२ बजेदेखि २ बजेसम्म पण्डित शास्त्रीले भक्तहरुका समस्याको निवारण गर्ने छन् । जसलाई दिव्यदरबार वा अर्जी लगाउने भनिन्छ । राम कथा र हनुमद कथासँगै दिव्यदरबारको कार्यक्रम सञ्चालन गर्ने पण्डित शास्त्रीको उपकार वा उद्धारको प्रक्रियालाई श्रद्धालु भक्तहरुले चासोका रुपमा लिने गरेका छन् । 

उनको दिव्यदरबारमा असाध्य रोगका बिरामी, आफन्त गुमाएका, दुखी, पीडितहरु समस्याको निवारणका लागि लाखौंको सङ्ख्यामा भेला हुने गरेका छन् । पण्डित शास्त्री रामभक्त हनुमानको स्वरुप रहेको विश्वास गरिन्छ । 

पण्डित शास्त्रीले गत वैशाख ५ गतेदेखि सङ्गीतमय हनुमान माहात्म्य, हनुमन्त कथा वाचन गरिरहेका छन् । नेपालमा दोस्रो पटक र चतराधाम पहिलो पटक आएका शास्त्रीले चतरा, वराहक्षेत्र, औलिया बाबाको जयजयकार लगाइरहेका छन् । बिहीबार जेटबोटमार्फत वराहक्षेत्रधाम दर्शन गर्न पुगेका उनले आज धरानको पिण्डेश्वर महादेव र दन्तकाली शक्ति पीठमा पूजा अर्चना गरेको पीठका सेवक आकाश शर्माले जानकारी दिए । 

सामाजिक संजाल फेसबुकमा ७ मिलियन र  युट्युबमा साढे सात मिलियन बढी फलोअर्स रहेको उनको च्यानलबाट चतराधाम र नेपालका तीर्थहरुको प्रचार भइरहेको छ । धार्मिक च्यानल संस्कारले समेत कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहेको छ भने नेपाली टेलिभिजन, अनलाइन, पत्रपत्रिका  र सामाजिक सन्जालमा समेत कार्यक्रम सम्प्रेषण भइरहेको छ ।