नेपालको धर्तीमा अध्यात्मसम्बन्धी अद्भूत कार्य गरेको सम्मान स्वरुप जगदगुरु महायोगी सिद्धबाबालाई 'वर्ल्ड बुक अफ रेकर्ड' को तर्फबाट अभिनन्दन गरिएको छ ।

चतराधाममा आयोजित बाह्रबर्से पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठमा जारी पाँच दिवसीय हनुमद कथा वाचन कार्यक्रममा बिहीबार 'वर्ल्ड बुक अफ रेकर्ड' को प्रमाणपत्र जगदगुरु रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य महाराज (जगदगुरु सिद्धबाबा) लाई प्रदान गरिएको हो ।

विश्वमा सनातन धर्मको प्रचारप्रसारसहित नेपालको धर्तीमा हिन्दू धर्मको ज्योति फैलाउन गरेको योगदानको उच्च मूल्याङ्कन गरिएको बताइएको छ । बेलायतस्थित सिद्ध आश्रम शक्ति सेन्टरका गुरु राजराजेश्वरसहित बागेश्वर धाम सरकारका नामले परिचित पण्डित धिरेन्द्रकृष्ण शास्त्रीका हातबाट सो प्रमाणपत्र प्रदान गरिएको हो ।

पण्डित शास्त्रीले आगामी वैशाख ९ गतेसम्म श्रीहनुमद कथा वाचन गर्ने छन् । कथा सुन्न छिमेकी मुलुक भारतसहित बेलायत, क्यानडा, अमेरिकालगायत देशका विभिन्न स्थानबाट हजारौं साधक तथा सर्वसाधारण भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको छ ।