पछिल्ला नेपाली चलचित्र हेरिसकेपछि दर्शकहरुका प्रतिक्रिया हेर्दा आशावादी हुनेभन्दा निराशावादी हुने खालका देखिन्छन् । यसले अझै पनि नेपाली फिल्मको स्तर वृद्धि हुन सकेको छैन भन्ने देखिन्छ । तर, यही प्रतिक्रियाले नै नेपाली फिल्मको गुणवेत्ता मापन गर्न भने सकिन्न । तर, एउटा यथार्थ चाहिँ के हो भने नेपाली फिल्मको स्तरवृद्धि विगतभन्दा केही भए पनि जति हुनुपर्ने हो त्यति हुन सकेको देखिँदैन । एउटै कलाकार, एकै प्रकृतिको अभिनय, एउटै बोलीचाली, व्यवहार आदिका कारणले पनि नेपाली फिल्मको स्तरवृद्धि हुन सकेको देखिँदैन । अहिले दर्शक एडभान्स्ड भइसके । आज विश्वको फिल्म विभिन्न प्लेटफर्मको माध्यमबाट हेर्न सक्ने भएका छन् । यसले नेपाली दर्शकको स्वादलाई परिवर्तन गरिसकेको छ । यसले गर्दा नेपाली फिल्मको कथावस्तु, कलाकार, छायाङ्कनका शैली आदि परिवर्तन गर्नुपर्ने भएको छ । अहिले पनि नेपाली फिल्म कुनै न कुनै देशीविदेशी फिल्मबाट नक्कल गरिएको हुन्छ । जसले गर्दा दर्शकमा निराशा छाउँदै गएको छ । यसतर्फ निर्देशक, निर्माताहरुले ध्यान दिएको पाइँदैन ।

नेपाली फिल्म निर्माण हुन थालेको ५८ वर्ष पुगेको छ । २०२२ सालमा पहिलो पटक पञ्चायत सरकारले आफ्नो प्रवर्धन गर्नका लागि ‘आमा’ फिल्म निर्माण भएको थियो । पञ्चायती व्यवस्था राम्रो हो भन्ने उद्देश्य साथ निर्माण भएको यो फिल्मबाटै नेपाली फिल्म निर्माणको प्रारम्भ भएको हो । त्यसयता पञ्चायतकालमा पुग नपुग ४० वटा फिल्म पनि निर्माण भएनन् । पञ्चायतपछि फिल्म निर्माणमा केही तीव्रता आए पनि माओवादी द्वन्द्वकालमा एक्कासि रोकियो । पचासको दशकमा झण्डै २ सयको हाराहारीमा फिल्म निर्माण भए पनि गुणस्तरीयताका हिसाबले खासै उल्लेखनीय छैन । मात्रात्मक रुपमा नेपाली फिल्म बने पनि गुणात्मक फिल्म बन्न सकेनन् । आजको दिनमा आइपुग्दा पनि नेपाली फिल्ममा पुरानो शैली परिवर्तन हुन सकेको छैन । केही आंशिक परिवर्तन भए पनि उल्लेखनीय परिवर्तन हुन सकेको छैन । अध्ययन, अनुसन्धानको खाँचो छ । नेपाली फिल्म निर्माण गर्नुपूर्व व्यापक रुपमा अनुसन्धान हुन सकेको छैन । दर्शकले कस्ता फिल्म चाहिरहेका छन् ? कस्तो फिल्म निर्माण गर्दा आम दर्शकले रूचाउँछन् भन्ने विषयतर्फ निर्देशकहरु तथा फिल्म निर्माताहरुले कत्ति पनि ध्यान दिएका छैनन् । वास्तवमा नेपाली फिल्ममा अनुसन्धान नहुनु नै पहिलो कमजोरी हो । अर्कोतर्फ कलाकार छनोटमा पनि ठूलो समस्या छ । कुनै कलाकार चल्ने बित्तिकै सबै फिल्ममा उसैलाई लिने प्रवृत्ति व्यापक छ । तर, रोलअनुसार उक्त पात्र सुहाउँछ कि सुहाउँदैन भन्ने विषयतर्फ ध्यान दिइँदैन । यसले पनि नेपाली फिल्मको स्तरलाई खस्काइरहेको छ । कलाकार छनोटदेखि कथावस्तु आदि लगायतमा समस्या छन् ।

नेपाली फिल्मले धेरै कुरा परिवर्तन गर्नुपर्ने अवस्था छ । आजको वैश्विक युगमा सूचना प्रविधिले जुन किसिमको फड्को मारेको छ, त्यहीअनुसार नै नेपाली फिल्मको स्तरमा पनि वृद्धि गर्न आवश्यक छ । प्रविधिहरुमा जुन परिवर्तन भएको छ त्यो परिवर्तनलाई आत्मसात गर्न जरूरी छ । फिल्ममा व्यापक अध्ययन अनुसन्धान गरेर कलाकार छनोट गर्दा पनि ध्यान दिन आवश्यक छ । समाजको विषयलाई नै फिल्ममा उतार्ने भएकाले समाजमा पत्याइने खालका कलाकारहरुलाई भिœयाउन आवश्यक छ । एउटै कलाकारलाई सबै फिल्ममा खेलाउने प्रवृत्तिको पनि अन्त्य गर्न आवश्यक छ । अबको नेपाली फिल्ममा केही न केही सुधार गर्न आवश्यक छ । हाम्रा कथाहरु भनिरहँदा त्यो कथा पत्याउने किसिमको र समाज सुहाउँदो हुनुपर्दछ । यसले नेपाली फिल्मको गरिमालाई पनि उचो बनाउँछ भने विश्वले हेर्ने फिल्महरु निर्माण हुन्छ । फिल्म सञ्चारको सशक्त माध्यम हो । नेपाली कला संस्कृति, यहाँको पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यबाट प्रेरित भएर फिल्म निर्माण गर्न आवश्यक छ । अब मानिसले हिजोको जस्तो हावादारी फिल्मभन्दा पनि नव यथार्थवादमा विश्वास गर्छन् । यसकारण सोहीअनुसारको कलाकारहरु छनौट गरेर प्रविधिलाई आत्मसात गरी अगाडि बढ्न आवश्यक छ । यसतर्फ नेपाली फिल्म निर्माता, निर्देशक तथा कलाकारहरुले पनि ध्यान दिन आवश्यक छ ।