जगदगुरु महायोगी सिद्धबाबाको सत्संकल्पमा जगद्गुरू श्रीरामानन्दाचार्य सेवा पीठ (श्रीराम तारकब्रह्म पीठ) चतराधाममा आजदेखि सङ्कटमोचन श्रीहनुमद् महायज्ञ कोटीहोम सुरु भएको छ । 

आज बिहान सप्तकौशिकी नदीमा दशस्नान (कुम्भ स्नान) दस प्रकारका औषधि प्रयोग गरी मन्त्रपूर्वक स्नान गर्ने विधिबाट स्नान गरी महायज्ञ सुरु भएको हो ।

महायज्ञका लागि आज पीठ पूजा, आचार्यादि वरण,  महायज्ञको पूर्वाङ्गका रुपमा गरिने नान्दिमुखादि कर्म र मातृका पूजनलगायतका कर्म गरी महायज्ञको सुरुवात गरिएको पीठका प्रवक्ता गोविन्दबाबु तिवारीले जानकारी दिए । 

महायज्ञको औपचारिक उद्घाटन जगदगुरु महायोगी सिद्धबाबाको समुपस्थितिमा कोशी प्रदेशकी सांसद तारादेवी ढकालले गरिन् । 

भोलिबाट महायज्ञकर्ताहरु यज्ञमा उपस्थित भएर कोटी होम गर्ने कार्यक्रम रहेको जगदगुरु रामानन्दाचार्य सेवा पीठले जनाएको छ । 

महायज्ञमा आजसम्ममा तीन हजार बढी यज्ञकर्ता सहभागी भएको पीठको तथ्याङ्क छ । पीठका सेवक आकाश शर्माका अनुसार महायज्ञमा सहभागी हुन यज्ञकर्ताहरु पीठमा आउने क्रम जारी रहेको छ ।