हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वको चारधाम मध्येको एक पवित्र तीर्थ वराहक्षेत्रस्थित सप्तकोसी नदीमा सन्त, महन्त र महामण्डलेश्वरले शाही स्नान गरेका छन् । 

आज वैशाख १ गतेका दिन शुभ मुहुर्तमा चतराधामबाट बाजागाजा, झाँकीसहित वराहक्षेत्रधाम पुगेका बालसन्त मोहनशरण देवाचार्य महाराजसहित साधुसन्तले शाही स्नान गरेका हुन् । 

एक महिनाभर लाग्ने महाकुम्भ मेलामा वराहक्षेत्र धाममा ४ वटा शाही स्नानको कार्यक्रम राखिएको छ । अब आगामी ११ गते, १६ गते र २६ गते शाही स्नानका कार्यक्रम राखिएको छ ।

राजयोगमा सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । शुभ मुहुर्तमा शाही स्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । वराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गतेदेखि आगामी वैशाख २८ गतेसम्म मासपर्यन्त बाह्रबर्से पूर्ण महाकुम्भ मेला लाग्दैछ ।

कुम्भ मेलाका अवसरमा वराहक्षेत्रसहित चतराधाममा विभिन्न अध्यात्मिक पीठले धार्मिक अनुष्ठानका कार्यक्रमहरु राखेका छन् ।