शास्त्रीय मान्यताअनुसार भगवान नारायणले पहिलो पटक सप्तकोसी नदीमा अमृत कुम्भघडा स्थापना गरी सुरु गरेको महाकुम्भ मेला १२ वर्षपछि चतराधाममा भोलिबाट सुरु हुँदैछ ।

देव र दानवबीचको समुन्द्रमन्थनपछि उत्पन्न अमृतको तरले स्थापित पिण्ड महाकुम्भ मेलाको आयोजनपछि धरानस्थित पिण्डेश्वर मन्दिरमा स्थापना गरिएको हिन्दू धर्मशास्त्रीय मान्यता रहेको छ । सोही पिण्डको प्रतीक कौशिकी नदीमा स्थापना गरी महाकुम्भ स्नान र शाही स्नान गर्ने परम्परा रहीआएको छ ।

आज जगदगुरु बालसन्तको अगुवाइमा कलश यात्रा पिण्डेश्वर प्रस्थान गरेको छ । सो कलश यात्रा धरान, इटहरी, विराटनगर हुँदै पुनः चतराधाम आइपुग्ने कार्यक्रम रहेको छ ।

बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा आज चतराधामस्थित मूल आयोजक समितिले कलश यात्रा निकालेको हो । यात्रामा कोशी प्रदेशका सांसद, जनप्रतिनिधि, दलका नेता, धार्मिक अगुवा, आयोजक समितिका पदाधिकारी सहभागी छन् ।
बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले हिजो कलशयात्राका अवसरमा सहभागी हुन आह्वान गरेका थिए ।