उदयपुरको बेलका नगरपालिकाले नगरक्षेत्रलाई 'कुम्भ नगरी' घोषणा गरेको छ ।

शुक्रबार नगर प्रमुखस्तरीय निर्णय गर्दै नगरलाई 'कुम्भ नगरी' घोषणा गरिएको नगर प्रमुख अशोक कार्कीले बताए ।

शनिबार निकुञ्ज सफारीको समुद्घाटन गर्न बेलका आइपुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसमक्ष बेलकालाई 'कुम्भ नगरी' घोषणा गरिएको साथै वृहत्तर वराहक्षेत्रलाई धार्मिक पर्यटकीय र पर्यावरणीय क्षेत्र घोषणा गर्न नगर प्रमुखले आग्रह गरे ।

वृहत्तर वराहक्षेत्रभित्र पिण्डेश्वर, दन्तकाली, रामधुनी, मैनामैनी, छिन्ताङलगायतका क्षेत्र समेटिएको छ ।

पिण्डेश्वर, चतराधाम, वराहक्षेत्र, बेलकालगायतका स्थानमा बाह्र वर्षमा लाग्ने पूर्ण महाकुम्भ मेला आगामी चैत्र २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म लाग्दैछ । महाकुम्भमा चतराधाममा निम्बार्कचार्य, शङ्कराचार्य, अद्वैत संस्था, रामानन्दाचार्यलगायतका पीठहरुले महिना दिनभरि आयोजना हुने कार्यक्रम सार्वजनिक गरेका छन् ।