आगामी चैत्र २७ देखि मासपर्यन्त चतराधाममा लाग्ने बाह्र वर्षे पूर्ण महाकुम्भ मेलाका अवसरमा बजार व्यवस्थापन समितिले चतराधाम परिसरमा ४ सय ८० वटा अस्थायी 'स्टल' निर्माण गर्ने भएको छ ।

समितिले पूजा सामग्री (माला) पसल, किराना, होटल र संस्थागत गरी स्टलको वर्गीकरण गरेको छ । व्यवसायीसँग प्रतिफुट ६ सय रुपैयाँ रकम लिने गरी स्टल व्यवस्थापन गरिएको समिति संयोजक कुमार भट्टराईले जानकारी दिए ।

'समितिको निर्णय मूल समारोह समितिसमक्ष पेश गर्छौं, मूल समितिले स्थान उपलब्ध गराएपछि जग्गा वर्गीकरण गर्ने काम सुरु हुन्छ ।' बराहक्षेत्र १ का वडा सदस्यसमेत रहेका संयोजक भट्टराईले भने, 'निर्धारित रकम मूल समितिको सल्लाहमा घटबढ हुन सक्ने छ ।' 

समितिमा माला पसल ११४ वटा, होटल ७६, किराना २३९ र संस्थागत - ५१ गरी ४८० निवेदन दर्ता भएका छन् । समितिले दर्ता शुल्क १ सय रुपैयाँ लिएको थियो ।
समितिको निर्णयअनुसार होटल व्यवसायीले १५ फिट मुख प्राप्त गर्नेछन् भने स्टलका लागि ९ हजार रुपैयाँ बुझाउनु पर्ने हुन्छ । अन्य व्यवसायीले ८ फुट मुखका लागि ४ हजार ८ सय रुपैयाँ बुझाउनु पर्ने हुन्छ । जग्गा प्राप्त गरेपछि व्यवसायीले आफैं स्टल बनाउनुपर्ने संयोजक भट्टराईले बताए ।

ढिला गरी निवेदन दिने व्यवसायीको हकमा वैकल्पिक व्यवस्था गर्ने समितिको भनाइ छ ।