धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकको कार्यसूचीमा रहेका महत्त्वपूर्ण पाँच ऐजेन्डा पास नभई नगरप्रमुख हर्कराज राईले बैठक स्थगित गरेका छन् ।

बिहीबार बसेको २४ औं कार्यपालिका बैठकमा नगर प्रमुख राईले व्यक्तिगत 'इगो' मा बैठक स्थगित गरेर हिँडेको धरान-१५ का अध्यक्ष नरेश इवारमले बताए । उनका अनुसार नगरप्रमुख राईले हठात् बैठक स्थगित गरेपश्चात् पाँच महत्त्वपूर्ण एजेन्डा पास भएनन् । कार्यपालिका बैठकको कार्यसूचीमा १४ वटा एजेन्डा थिए । कानून तर्जुमा मस्यौदा समिति गठन, भवन मर्मत योजना संशोधन, भोजपुर-सुनसरी समाजका लागि भवन निर्माणको जग्गा व्यवस्थापन गर्ने एजेन्डा पास नभएको अध्यक्ष इवारमले बताए ।

अध्यक्ष इवारमका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा स्थानीय सरकारले कानून तर्जुमा मस्यौदा समिति बनाउन सक्ने र समितिको संयोजक उपप्रमुखं रहने व्यवस्था छ । ऐन विपरीत समितिको संयोजक आफै रहनुपर्ने अडान नगर प्रमुख राईले राखेका थिए । अध्यक्ष इवारमले भने, 'मेयरले मस्यौदाको मूल्याङ्कन गर्न उपयुक्त छैन भने छलफल गराउने पद भएकाले उपमेयर संयोजक बन्नु पर्ने प्रस्ताव राख्दा मेयर बैठक स्थगित गरेर हिँडे।'

समितिको सदस्यहरूमा विद्या शाक्य, रूपेश आचार्य, विवेक राई, सावित्री परियार, कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए । नगरप्रमुख राईले संयोजक तोक्ने अधिकार आफूसँग रहेको भन्दै आफ्‌नो प्रस्ताव अस्वीकार गरेको अध्यक्ष इवारमले बताए ।

कार्यसूचीमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रादेशिक कार्यालयको लागि धरान-१६ स्थित कृषि विकास बैङ्कको स्वामित्वमा रहेको भवन मर्मत गर्ने एजेण्डामा पनि सहमति जुट्न सकेन । उपप्रमुख अइन्द्रविक्रम बेघाले नगरप्रमुख राईले सबैलाई नसमेटेको साथै बोल्न नदिई आफै बैठक स्थगित गरेर हिँडेको बताए ।

बहुसांस्कृतिक पार्कको ठेगाना संशोशन, हाईटेन्सन लाइनको सुझाव, विद्यालयको स्तरोन्नति, आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेश समपूरक अनुदान, तहवृद्धि समितिको अनुमोदन, खानेपानी मुहान दर्ता, बाटो दर्ता नामकरण तथा नाम परिवर्तन, स्थायी कार्यालय तथा स्थायी पद दर्ता, कुम्भमेला आवश्यक सहजीकरण र समन्वय, घर बनाउन जग्गा उपलब्ध, साकेला थानको लागि जग्गा, भवन निर्माण, बाटो खोल्नेलगायतका एजेन्डा भने पास भएको छ । घण्टाघरबाट निकालिएका मजदुरको विषय भने प्रवेश नै नपाई बैठक स्थगित भएको छ ।