इलाम २ मा हुनलागेको उपनिर्वाचन पाँच दलका लागि आगामी ०८४ मा हुने आवधिक निर्वाचनको परीक्षणका रुपमा हुने देखिएको छ । वैशाख १५ मा हुन लागेको उपनिर्वाचनले ०८४ निर्वाचनलाई सङ्केत गर्ने अनुमान गरिएको छ ।

प्रजातन्त्रको पुनर्बहालीपश्चात् एमालेका सुवासचन्द्र नेम्वाङले यो क्षेत्रमा एकछत्र विजय हासिल गर्दै आएका थिए । नेम्वाङको निधन भएपश्चात् उनको 'लिगेसी'लाई कायम राख्न कान्छा छोरा सुहाङ नेम्वाङलाई एमालेले उम्मेदवार बनाएको छ ।

'एमालेले पटक पटक जित्दै आएको र संसदीय दलका नेता तथा सभामुख स्वर्गीय सुवास नेम्वाङ कमरेडको लिगेसीले पनि एमालेको प्रभाव राम्रै छ'-एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले फोनसम्पर्कमा भने । 

ठूला दलमध्ये नेकपा (एमाले)ले मात्रै आफ्‌नो तर्फबाट उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ। नेपाली काङ्ग्रेसले हालसम्म कसलाई उम्मेदवार बनाउने भन्ने यकिन गरेको छैन । कोशी प्रदेश समितिले छ जनाको नाम पठाएको छ । प्रदेशले उपनिर्वाचनका लागि डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम पठाएको छ ।

कोशी प्रदेश समितिका सभापति उद्धव थापाका अनुसार पार्टीले छ जना आकाङ्क्षीको नाम सिफारिस गरेर केन्द्रीय समितिलाई पठाइएको छ ।

'२०-२१ गते सानेपामा बोर्ड मिटिङ बस्छ र उम्मेदवार छनोट गर्लान्, हामीले आफ्‌नो जिम्मेवारी पूरा गरेका छौं' उनले फोनसम्पर्कमा भने ।

यता महामन्त्री विश्वप्रकाश शर्माले भने चैतको १९-२० गतेभित्र उम्मेदवारको नाम तय गरिसक्ने जनाएका छन् ।

सत्तामा रहेको नेकपा (माओवादी केन्द्र) ले भने हालसम्म उम्मेदवार छनोट गरेको अवस्था छैन । गठबन्धन गरेर जाने हो या एक्लै लड्ने भन्ने विषयमा यकिन नगरिसकेको माओवादी केन्द्रको प्रदेश समितिले भने एक्लै लडेर जाने तयारीमा रहेको कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

'एक्लाएक्लै लड्नुपर्छ भन्ने हिसाबले हामीले केन्द्रीय नेतृत्वलाई आग्रह गरिरहेका छौं। त्यसमा केन्द्रीय कमिटी पनि सकारात्मक देखिएको छ' उनले फोनसम्पर्कमा भने ।

यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकारसमेत रहेका मिलन लिम्बूलाई अगाडि सारेको अवस्था छ । लिम्बू यसअघि भने माओवादी केन्द्रनिकट थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने बिहीबार निर्णय गरिसकेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको संसदीय बोर्ड बैठकले उम्मेदवार बनाएको अवस्था छ ।

पहिचानवादीबाट डकेन्द्रसिंह थेगिम
कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलित समूहले पनि आफ्‌नो उम्मेदवार उठाएको छ । पहिचान पक्षधरबाट डकेन्द्रसिंह थेगिम लिम्बूलाई उम्मेदवार बनाएको छ । जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका पहिचान पक्षधरतर्फ आन्दोलनमा साथ दिइरहेका केपी पालुङ्‌वाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा डकेन्द्रसिंहलाई उठाएको बताए ।

'हामीले एकताको सन्देश पनि दिनु थियो, अन्य चुनाव चिह्नमा मत हालिरहेकाहरूलाई पनि भोट हाल्न सजिलो हुने हिसाबले स्वतन्त्र उम्मेदवार उठाएको हो' उनले फोनसम्पर्कमा भने, 'अहिले हामी कोशी नाम खारेजीको आन्दोलनमै छौं । पार्टी पार्टीबाट उठाउँदाखेरि भोट माग्न केही असहज देख्यौं, त्यही भएर स्वतन्त्र उम्मेदवार उठाइएको हो ।' यता स्वतन्त्र उम्मेदवार बनेका थेगिमलाई धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) ले पनि समर्थन गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै थेगिमको पक्षमा मत मागेका हुन् ।

गठबन्धनको सम्भावना जीवित
उपनिर्वाचनमा सत्तारूढ दलहरूबीच गठबन्धन हुने सम्भावना पनि जीवित रहेको छ । तर, चुनावकै समयमा गठबन्धन हुने परम्परा गलत रहेको पार्टी नेताहरू बताउँछन् ।

एमालेका अध्यक्ष खतिवडा भन्छन्, 'सुरुमै गठबन्धन गर्नु ठीक हुँदैन । लोकतन्त्रमा त्यो राम्रो पक्ष पनि होइन ।' तर, उनले राजनीतिमा सबै चिजको सम्भावना जीवित नै रहने दाबी गरे ।

'यताको भोट उता हालौँ भन्नेसम्म त हुन्छ तर, चुनावपूर्व गठबन्धन गर्ने कुरा राम्रो होइन । तर, राजनीतिमा सबै चिजको सम्भावना हुन्छ ।'

पूर्व मुख्यमन्त्री रहिसकेका नेपाली काङ्ग्रेसका प्रदेश सभापति उद्धव थापाले अहिलेसम्म पार्टीले एक्लै-एक्लै लड्ने भन्ने कुरा आएको बताए । 'गठबन्धनको सम्भावना देखिएको छैन । काङ्ग्रेस एक्लै लड्छ । उपनिर्वाचनमा गठबन्धन गरेर जाँदैन' उनले भने, 'तर, नेपाली राजनीतिमा गठबन्धन नगरी बढ्ने अवस्था पनि छैन । मिश्रित निर्वाचन प्रणाली भएकाले पनि गठबन्धन गरेर जानुपर्ने अवस्था चाहिँ छ ।' त्यस्तै माओवादी पार्टीका प्रदेश अध्यक्ष नेम्वाङले हालसम्मको अवस्था चाहिँ एक्ला एक्लै लड्ने भन्ने निर्णय गरेको अवस्था रहेकाले आफूहरू आशावादी रहेको बताए । तर, अवस्था जेसुकै पनि हुन सक्ने उनले बताए ।

विगतको आमनिर्वाचन
२०७९ को मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा भने एमालेका सुवासचन्द्र नेम्वाङले ३० हजार २० मत ल्याई निर्वाचित भएका थिए । तत्कालीन समयमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका काङ्ग्रेसका जिल्ला सभापतिसमेत रहेका डम्बरबहादुर खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए ।

उनी एक सय १४ मतले पराजित भएको अवस्था थियो । यस्तै तत्कालीन समयमा रास्वपाका प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत ल्याएका थिए ।  मङ्गोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले एक हजार तीन सय ६३ मत ल्याएका थिए । राप्रपाका गणेशबहादुर दुलालले पाँच सय १० मत ल्याएको अवस्था थियो ।

यता समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२ मत ल्याउँदा काङ्ग्रेसले २२ हजार ३ सय ३३ मत ल्याएको थियो । माओवादीले ५ हजार एक सय ५३, रास्वपाले चार हजार ६ सय ८६, मङ्गोल नेशनल अर्गनाइजेसनले १ हजार ६ सय ६१, राप्रपाले १ हजार १ सय ९१, जसपाले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ मत ल्याएको थियो ।