विराटनगर । निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि मोरङ जिल्लाका ५ वटा स्थानीय पालिका जोडिने हाटखोला–रङ्गेली हुलाकी सडक नबनेपछि यहाँका स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

उक्त सडक निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै नेपाली काङ्ग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा स्थानीयले एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरू बिहीबार साढे ९ देखि साढे १० बजेसम्म सडकमा उभिएर कटहरी गाउँपालिका–२ गोपाल फनपार्कअगाडि विरोधमा उत्रिए । आन्दोलनको कारणले एक घण्टा सवारी साधान आवागमन ठप्प भएको थियो । यसअघि पनि उक्त सडक तत्काल निर्माण गरिनुपर्ने माग राख्दै नागरिक सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।

हुलाकी सडक समयमै निर्माण नहुँदा झापासित सिमाना जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रङ्गेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोबाट पीडित बन्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पूरा हुने छाँटकाँट छैन । समयमै सडक नबन्दा स्थानीयले सास्ती भोग्नुपरेको काङ्ग्रेस कटहरी गाउँपालिका–२ का वडासभापति सञ्जय मण्डलले बताए । कटहरी गाउँपालिकाभित्र पर्ने सडक निर्माणमा ढिलासुस्ती भएपछि आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनले बताए । सडक निर्माणलाई तीव्रता नदिए आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने उनले बताए ।

सडकछेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयवासी धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’ पटक–पटक काम सुरु गर्न आग्रह गर्दा पनि काम नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए । धुवाँ र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतालाई लिएर आन्दोलनमा उत्रिनु परेको स्थानीय विक्रम थपलियाले बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नुपर्ने बताए । निर्माणको काम सुरु नगरे आन्दोलन सशक्त पारेर अगाडि बढ्ने उनले बताए ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिङ्घिया खोलासम्मको ४४ किलोमिटर सडक–खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ । २०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० सालसम्म पुर्याइएको थियो । तर, अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

सडक निर्माण पूरा नहुँदा सर्वसाधारणले कष्ट भोग्नुपरेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको छ । ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रा.लि.ले ठेक्का लिएको कर्सिया सडक–खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।