विजयपुर । धरान उपमहानगरका वडा कार्यालयहरूमा चरम् बेथिति देखिएको छ । त्यसको एउटा उदाहरण हो, धरान ११ नं. वडा कार्यालय । वडा कार्यालयले एनजिओले खरिद गरेको क्यामेरालाई एक लाख रुपैयाँ भुक्तानी दिएको छ ।

वडा कार्यालयले समता समाज नेपाल नामको गैरसरकारी संस्थाको बिलमा ९९ हजार ८ सय १ रुपैयाँ भुक्तानी दिएको छ । यसले वडा कार्यालयमा चरम् अपचलन रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७९/०८० को महालेखा परीक्षकको प्रतिवेदनमा वडा कार्यालयले समाजलाई डिएसएलआर क्यामेरा खरिद बापत एक लाख रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । ‘वडा कार्यालयबाट संस्थाले खरिद गरेको बिल संलग्न राखी भुक्तानी दिएको नियमसम्मत देखिएन’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा स्थानीय तहले उपयोगिता सिर्जना हुने गरी अधिकतम् प्रतिफल दिने कार्यक्रम छनौट गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक स्रोतको उपयोग गर्दा अधिकतम् प्रतिफल सुनिश्चित हुने गरी खर्च गर्नुपर्ने व्यवस्था छ । समता समाजको बिलमा वडा कार्यालयले गरेको भुक्तानीलाई अनियमित भएको उल्लेख गरेको छ ।

उपभोक्ता समितिबाट भवन निर्माण
धरान ८ नं. वडा कार्यालयले नियमविपरीत उपभोक्ता समितिबाट भवन निर्माण कार्य गरेको छ । प्रतिवेदनअनुसार ८ नं. वडा कार्यालयले २९ लाख ४२ हजार ८ सय ९८ रुपैयाँको भवन निर्माण गरेको छ ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा उपभोक्ता समितिबाट कार्य गराउनेसम्बन्धी कार्यविधि अनुसार जटिल प्राविधिक पक्ष समावेश भएको कार्य उपभोक्ता समितिबाट गराउने सम्बन्धी व्यवस्था नरहेको प्रतिवेदनमा भनिएको छ ।

यस्तै, नियम ९७ (१२) मा उपभोक्ता समितिबाट निर्माण कार्य सम्पन भएपछि सो को रेखदेख, मर्मतसम्भार गर्ने जिम्मेवारीसमेत तोकी आयोजनाको स्वामित्व उपभोक्ता समितिलाई नै हस्तान्तरण गर्नुपर्नेसमेतको व्यवस्था छ । ‘कार्यालयले जटिल प्रकारका तथा उपभोक्तालाई हस्तान्तरणसमेत गर्न नमिल्ने वडा कार्यालय भवन निर्माण गर्न वडा नं. ८ को प्रशासनिक भवन निर्माण उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिमार्फत् निर्माण गराएको’ प्रतिवेदनमा भनिएको छ । भवन निर्माणका लागि उपमहानगरबाट ९ लाख ९५ हजार ६ सय ३१ रुपैयाँ र वडा नं.८ कार्यालयबाट १९ लाख ४७ हजार २ सय ६७ रुपैयाँ गरी कुल २९ लाख ४२ हजार ८ सय ९८ रुपैयाँ भुक्तानी दिएको नियमसम्मत नदेखिएको प्रतिवेदनले उल्लेख गरेको छ । उक्त रकमलाई महालेखाले अनियमित उल्लेख गरेको छ ।

नगरको विविध खर्च करोड
धरान उपमहानगरको विविध खर्च करोडमाथि रहेको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार १ करोड १२ लाख ३४ हजार ४ सय रुपैयाँ विविध खर्च गरेको उल्लेख गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने उल्लेख छ ।